काठमाडौं, ६ बैशाख। राप्रपाले शुक्रबार धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ। नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार शुक्रबार धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको हो।
गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ।
पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम सम्पन्न गरिसकेको छ।
पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम गरेको राप्रपाले आज (शुक्रबार) धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको हो। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थान विन्दुको रुपमा शुक्रबारको कार्यक्रम रहने बताए।
उनले धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम संविधानविरोधी नभएको पनि जिकिर गरे । ‘संविधानका आधारभूत मान्यतामा हाम्रो असहमति छ, गणतन्त्र, धर्म निरपेक्षता र संघीयताबारे हामीले फरक मत राख्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं,’ उनले भने, ‘संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रुपमा आफ्नो मान्यता स्थापित गर्न संघर्षरत छौं ।’
शुक्रबार दिउँसो रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङ लगायतका नेताहरू सहभागी हुने जनाइएको छ। राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा वैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आफ्ना मागबारे सरकार गम्भीर नभए पार्टीको बैठक बसेर दोश्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने जनाएको छ।



लाेकपाटी न्यूज

