काठमाडौं, ६ वैशाख। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन्।
नेता नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र प्रचण्डले मापदण्डमा केन्द्रित रहेर बिहीबार डेढ घण्टा लामो छलफल गरेका हुन्। दुई दिनभित्र जिल्ला र जनसंगठनको नेतृत्व टुंगो लगाएर सचिवालय बैठकबाट पारित गर्ने गरी अध्यक्षद्वय ओली र प्रचण्डले छलफललाई तीव्रता दिएका छन्।
गत २९ चैतमा चन्द्रागिरी रिसोर्टमा आवासीय बैठकपछि ओली र प्रचण्डले २ वैशाखमा नेपालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए। नेपालसहितको छलफलमा पूर्वएमाले र माओवादी दुवै समूहलाई मान्य हुने गरी मापदण्डबाटै एकीकरण टुंग्याउने सहमति भएको बरिष्ठ नेता नेपालले बताएका थिए।
‘दुई अध्यक्षबीच करिब डेढ घन्टा छलफल भएको छ, उहाँहरू ९ गतेभित्रै एकतासँग जोडिएका सबै काम टुंगो लगाउन मापदण्ड टुंग्याउने गृहकार्यमा हुनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो। वरिष्ठ नेता नेपालले जिल्ला नेतृत्वमा साबिक कमिटीमा रहेका वरिष्ठमध्येलाई चयन गर्नुपर्ने मापदण्ड अघि सारेका छन्।
जनप्रतिनिधिमा निर्वाचित र राजकीय मामिलामा रहेकाहरूलाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई आधार मानेर वरिष्ठताको मापदण्डअनुसार एकता टुंग्याउनुपर्ने नेपालको भनाइ छ। नेपालको मागलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेताहरुबीच छलफल चलिरहेको छ।
छलफलमा प्रचण्डले सबैलाई मान्य हुने गरी निर्वाचित जनप्रतिनिधिलाई पनि नेतृत्व दिन सकिने विकल्प खुला राखेर एकता टुंग्याउनुपर्ने धारणा राखेका थिए। ‘मापदण्डबाटै टुंग्याउने गरी छलफल सकारात्मक बन्दै गएकाले ९ गतेभित्र एकताको सबै काम टुंगिने गरी ब्रेक थ्रु हुँदै छ,’ स्रोतले भन्यो, ‘त्यसपछि पार्टी सरकारको कामलाई अझ प्रभावकारी बनाउन देशव्यापी अभियानमा केन्द्रित हुनेछ।’



लाेकपाटी न्यूज

