नेपालमा जनता छैनन्, पार्टीका कार्यकर्ता मात्र छन् : कमल थापा

kamal-thapa-8
लाेकपाटी न्यूज

काठमाडौं, ५ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भिर नभएको आरोप लगाएका छन्।

बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उनले भने, ‘हामीले उठाएका मागबारे सरकार गम्भिर भएन। हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न आग्रह गरेका थियौं। तर, सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ।’

अध्यक्ष थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पारे। उनले भने, ‘हालै हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका साथ सम्पन्न गर्‍यौं।’ संघर्षका कार्यक्रम अझै जारी रहेको सुनाउँदै थापाले भोलि बैशाख ०६ गते देशैभरि व्यापक जनसहभागितामा धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाउने कार्यक्रम रहेको सुनाए ।

धर्मनिरपेक्षतालाई तत्काल खारेजी गर्नुपर्ने सन्देश दिनका लागि भोलिको कार्यक्रम सांकेतिक कार्यक्रम हुने उनको स्पष्टोक्ति थियो। उनले भने, ‘काठमाडौंमा भोलि दिउँसो २ बजे हाम्रै उपस्थितिमा भव्य रुपमा यो कार्यक्रम सम्पन्न हुँदैछ।’ गत हप्ता काठमाडौंमै भएको धर्ना कार्यक्रममा सरकारले हस्तक्षेप, लाठी चार्ज र अश्रुग्याँस प्रहार गरेकोप्रति पनि थापाले घोर आपत्ति जनाए।

उनले आफूहरुले कानून र संविधान उल्लंघन नगरेको पनि स्पष्ट पारे। उनले भने, ‘हामीले गर्दै आएका हरेक संघर्ष र आन्दोलनका कार्यक्रमहरु संविधान र कानूनकै परिधिभित्र रहेर भएका छन् र अबपनि त्यसरी नै हुँदैछ।’ आफूहरुले विरोधको नयाँ स्वरुप अघि सारेको पनि उनको भनाइ छ।

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरोध गर्नु भनेको संविधानका विरोध नभएको पनि उनले स्पष्ट पारे। उनले भने, ‘विरोध गर्नपनि वैचारिक स्वतन्त्रता छ। तर, हामीले संविधानलाई नै अस्विकार गरेको वा विरोध गरेका छैनौं।’ नेपालमा धर्मनिरपेक्षता बाहृय शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको उनको गम्भिर आरोप छ।

उनले भने, ‘२०६२/०६३ को जनआन्दोलनपछि धर्मनिरपेक्षता राजनीतिक दलहरुको एजेण्डा थिएन। जनआन्दोलन सकिएको तीन हप्ता नबित्दै धर्मनिरपेक्षता बनाइयो। यो अत्यन्तै विवादस्पद रुपमा ल्याइयो।’ अन्तिम समयमसम्म पनि धार्मिक स्वतन्त्रता राख्ने भन्नेबारे तत्कालिन मुख्य दलहरुबीच भद्र सहमति भएको उनले स्मरण गराए। तर, पश्चिमाहरुको दबाब र प्रभावका आधारमा धर्मनिरपेक्षता राखिएको उनले सनसनीपूर्ण आरोप लगाए।

विदेशी षड्यन्त्रलाई समाप्त गर्ने र राष्ट्रिय पहिचान कायम गर्न पनि आफूहरुको संघर्ष र आन्दोलनको महत्वपूर्ण पक्ष भएको उनले सुनाए। उनले संविधानमा धर्मनिरपेक्षताको सवालमा स्पष्टीकरणमा नै विरोधाभाष रहेको गुनासो पोखे । उनले भने, ‘त्यसमा भएको विरोधाभाषलाई सच्याएर पूर्ण धार्मिक स्वतन्त्रता र सनातन हिन्दूराष्ट्र लेख्नुपर्छ।’

पछिल्लो समय धर्मनिरपेक्षताको नाममा नेपालमा सनातन धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको पनि थापाले आरोप लगाए। नेपालमा पछिल्लो समय ठूलो संख्यामा धर्मपरिवर्तन भएको उनको आशय थियो। उनले भने, ‘यसले हाम्रो सामाजिक एकता खलबलिएको छ। त्यसैले धर्मनिरपेक्षता खारेजी अनिवार्य भइसकेको छ।’

आफूहरुले हिन्दूराष्ट्रको कुरा गरेर सबैले यसलाई ग्रहण गर्नैपर्छ भनेर नभनेको पनि उनले जिकिर गरे। उनले भने, ‘हामीले धर्मको आधारमा कानून र शासन गर्नुपर्छ भनेको छैन। हिन्दू धर्म राज्य व्यवस्थाको आधार स्तम्भ हो। यो हाम्रो पहिचान हो। राष्ट्रिय एकताको पनि आधार स्तम्भ हो।’

आफूहरुले उठाएका मागप्रति सरकारले अहिलेम्म यसप्रति सकारात्मक रुपमा ध्यान नदिइरहेको पनि उनले आरोप लगाए। उनले भने, ‘तर, हाम्रो मागप्रति जनताको व्यापक समर्थन छ। नेपाल हिन्दूराष्ट्र होस् भन्ने जनताको चाहना छ। यो संख्या अत्यधिक ठूलो छ। जनता सडकमा उत्रिसकेको अवस्था छैन। अब हामीलाई ऐक्यबद्धता मात्रै गरेर पुग्दैन। संघर्षमा जनता आफै उत्रिनुपर्छ। यो अभियानलाई सफल तुल्याउनका लागि आम जनताको सहयोग चाहिन्छ। यसतर्फ पनि सरकारले गम्भिर ध्यान दिओस्।’

त्यस्तै, उनले पछिल्लो समय नेपाल भ्रष्टाचारको ठूलो दलदलमा फसकेको पनि आरोप लगाए। उनले भने, ‘केही वर्षयता भ्रष्टाचारको कारणले गर्दा लोकतन्त्रको आवरणमा लुटतन्त्र हुने सम्भावना देखिराखेको छ।’ यद्यपि उनले पछिल्लो समय सर्वोच्चको फैसलाले सरकारले एनसेलबाट लाभकर असुल्न गरेको प्रयास सराहनीय भएको पनि विश्वास दिलाए।

त्यस्तै, बालुवाटार परिसरको सरकारी जग्गा कब्जा गरी करोडौं÷अरबौं रुपमा खरिद–बिक्री गरी हानी/नोक्सानी पुर्‍याउने भू–माफियाहरुको बारेमा अनुसन्धान भइरहेकोप्रति पनि उनले सरकारको उच्च प्रशंसा गरे। तर, ३८ क्विन्टल र साँढे ३३ केजी सुन काण्डको अनुसन्धानमा ठूलाबडाहरुको नाम बाहिर आउन थालेपछि र मुछिन थालेपछि सरकारले फासफुस बनाउने काम गरेकोमा भने थापाले असन्तुष्टि व्यक्त गरे।

त्यस्तै, वाइडबडी जहाज खरिद प्रकरण काण्डमा पनि अरबौं रुपैयाँ सम्पत्ति राष्ट्रको नोक्सानी भएको र सुरुमा छानबिन गरिएपनि ठूला व्यक्तिको नाम आउन थालेपछि अहिले गुपचुप बनाउन खोजिएको उनको आरोप छ। थापाले मेलम्ची, बुढीगण्डकी लगायतका राष्ट्रिय गौरवको आयोजनामा भ्रष्टाचार भएको बताउँदै यसको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।

आफूहरुले राजासहितको हिन्दूराष्ट्रको माग नछोडेको पनि थापाले जिकिर गरे। उनले थपे, ‘यो एजेण्डालाई हामी सशक्त रुपमा उठाउँछौं। सरकारलाई हामीले बुझाएको २२ बुँदे माग यथावत छ।’ संविधानमा भएका सबै व्यवस्थाहरु मान्नुपर्छ भन्ने नभएको पनि उनले स्पष्ट पारे ।

उनले लोकतन्त्रको विकल्प नभएको सुनाउँदै राजसंस्थालाई कुनै न कुनै स्पेश दिनुपर्ने बताए। त्यस्तै, संघीयताको सवालमा केन्द्रमा बलियो सरकार र स्थानीय तहमा झनै शक्तिशाली र अधिकारसम्पन्न सरकार बनाउनुपर्ने थापाले बताए। तर, अहिले बीचमा रहेको प्रादेशिक संरचनाको आवश्यक नरहेको उनको जिकिर छ।

थापाले राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुबीच एकताको प्रयास अझै जारी रहेको विश्वास दिलाए। उनले भने, ‘पशुपति शमशेरजी र प्रकाशचन्द्र लोहनीजीसँग् एकताको लागि प्रयास भएकै हो। सहमति गर्ने भनिएको बेला उहाँहरु पछि हट्नुभयो। यसको रहस्य छ। यो रहस्यको बारे वा कारणको बारेमा पछि कुरा गरौंला। तर, हामी एकताको पक्षमा छौं।’

हालै एक टिभी कार्यक्रममा लोहनीले कमल थापाले हस्ताक्षर गरे पार्टी एकता हुन्छ भनेर दिएको अभिव्यक्तिमा टिप्पणी गर्दै थापाले भने, ‘त्यो सहमतिको कागज कहाँ छ ? ल्याउनुहोस्, म सही गर्छु।’ उनले पार्टीको चुनाव चिन्ह हलो वा जुवा के राख्ने भन्ने कुरा ठूलो नभएको बताउँदै ठूलो विचार र सिद्धान्त भएको बताए। आफ्नो पार्टीले अहिले जुन बाटो लिएको छ, त्यो नेपाली राजनीतिमा मौलिक प्रयोग भएको पनि उनले जिकिर गरे।

आफूहरुको हड्ताल र संघर्षमा सरकार सर्वसत्तावादी रुपमा प्रस्तुत भए त्यसको प्रतिक्रिया हुने पनि थापाले चेतावनी दिए। यद्यपि, उनले भोलि कुनै अप्रिय घट्ना नघटोस् भन्ने शुभेच्छा व्यक्त गरे। उनले जनता नागरिक नभएसम्म भ्रष्टाचार र अव्यवस्थित कुरा नरोकिने जिकिर गरे। उनले भने, ‘अहिले जनता नागरिक भएका छैनन्। सबै पार्टीको कार्यकर्ता भएका छन्।’

भारतमा जारी लोकसभाको निर्वाचनबारे टिप्पणी गर्दै अध्यक्ष थापाले भने, ‘भारत विश्वकै ठूलो प्रजातन्त्र हो। भारतमा हुने प्रजातान्त्रिक अभ्यास र चुनावले संसारभरिकै प्रजातान्त्रिक संघर्षलाई ठूलो प्रेरणा प्राप्त हुन्छ।’ नेपालमा पनि प्रजातन्त्रको स्थापना, पूर्नस्थापनामा भारतको प्रजातान्त्रिक आन्दोलनको प्रत्यक्ष परोक्ष अभिप्रेरणा रहेको उनले सुनाए।

भारतमा भइरहेको र हुने चुनाव शान्तिपूर्ण सफलताका साथ सम्पन्न होस् भन्ने आफ्नो कामना रहेको थापाको भनाइ छ। थापाले भने, ‘सबै राजनीतिक दल र नेताहरुलाई शुभकामना पनि दिन चाहन्छु। चुनावमा जुनसुकै पार्टीले जितेता पनि, जुनसुकै पार्टीको सरकार भएतापनि नेपाल र भारतको सम्बन्ध सुदृढ हुनुपर्दछ।’

थापाले अघि थपे, ‘विगतमा भारतीय पक्षबाट जे जस्ता किसिमका हस्तक्षेप र ज्यादती नेपालविरुद्ध भएका थिए, त्यसलाई सच्याएर हिँड्नका निमित्त आगामी दिनमा नयाँ बन्ने सरकारले विशेष रुपले ध्यान दिनेछ भन्ने म आशा र विश्वास गर्दै शुभकामनाबाहेक अरु केही भन्न चाहन्न।’

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग तपाईहरुको सहमति हुन्छ त भनेर पत्रकारले सोधेको एक प्रश्नमा अध्यक्ष थापाले भने, ‘हाम्रो पार्टीको हिंसा र ध्वंससँग सहमति छैन। सरकारले गलत गतिविधि नियन्त्रण गर्ने नाउमा प्रतिबन्ध गरेको छ, हामी वार्ता र सहमतिबाट समाधान खोज्नुपर्छ भन्ने पक्षमा छौं।’