सन् २०३० सम्म घर-घरमा खानेपानीकाे धारा पुग्छ : डा. सञ्जीव राणा

sanjib
लाेकपाटी न्यूज

भैंसेपाटी, ०५ वैशाख । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ। स्थापनाको १३ वर्ष पार गरी १४ औं वर्ष प्रवेशको अवसरमा बोर्डले सो समारोह सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमूख अतिथि माननीय मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलाका वर्षहरुको दाँजोमा यो वर्ष केही पृथक र सिर्जनशील भएर आधुनिकीकरणको मार्गमा आफूलाई यात्रा गराइरहेको महसुस भएको बताइन्। उनले भनिन्, हरेक निकायको आ–आफ्नो क्षेत्राधिकार हुन्छ र भ्याली बोर्डले पनि आफ्नो क्षेत्राधिकारभित्र रहेर खानेपानीका क्षेत्रमा विभिन्न प्रविधिको प्रयोग गर्दै खानेपानी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ।

उनले मेलञ्चीको पानी ल्याउनभन्दा पनि त्यसकाे व्यवस्थापकीय पक्ष जटिल भएकोले त्यसका लागि मेलञ्ची खानेपानी विकास समिति, केयुकेएल र बोर्डबीच सहकार्य हुनुपर्ने बताउँदै त्यस्को लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताइन्। जनताको मौलिक अधिकारसँग सम्बन्धित रहेको खानेपानी परिपूर्तिको लागि मन्त्रालयले सक्दो भूमिका निभाउने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।

vally board 01.JPG01

त्यस्तै कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले भर्खरै मात्र सर्वसाधारणलाई सुलभ तरिकाले गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले वाटर एटिएम सञ्चालनमा ल्याएको बताए। उनले काठमाडौं उपत्यका भित्रका सम्पूर्ण नगरपालिका क्षेत्रलाई समावेश गरी सबै जनतालाई सन् २०३० सम्ममा गुणस्तरीय खानेपानीको पहुँचमा पुर्‍याउने उद्देश्यले सोहीअनुरुपको गुरुयोजना तयार भइरहेको बताए। उनले बोर्डको उद्देश्य अनुरुपको कार्य गर्न साथ दिने सबै सरोकारवाला निकायलाई धन्यवाद दिँदै आउँदा दिनमा पनि साथ, सहयोगको अपेक्षा राखेको बताए।

त्यस्तै कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रराज शर्माले खानेपानी सम्बन्धी नियामक निकाय भ्याली बोर्ड र कार्यान्वयनको निकाय केयुकेएलबीच समन्वय हुनुपर्ने बताए। उनले खानेपानीको व्यवस्थापनका लागि बोर्डको महत्व रहेकोले यसको आवश्यक सुधारमा जोड दिनुपर्ने बताए। उनले सन् २०३० सम्ममा ९० प्रतिशत जनतालाई उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँचमा पुर्याउने मन्त्रालयको लक्ष्य रहेको बताए।

यस्तै कार्यक्रममा बोर्डलाई शुभकामना प्रदान गर्दै प्रदेश सभा सदस्य जीवन खड्काले खानेपानी सेवामूलक र मानवीय धर्मसँग जोडिएको क्षेत्र भएको भन्दै सबै जनतामा खानेपानीको पहुँच पुर्याउन प्रदेश सरकारले पहलकदमी चालिरहेको बताए। उनले बोर्डको आवश्यक व्यवस्थापनका प्रदेश सरकारले एक करोड विनियोजन गरेको समेत जानकारी दिए।

कार्यक्रमका सभापति एवम् भ्याली बोर्डका अध्यक्ष तेजराज भट्टले बोर्ड ऐनको संशोधन गर्नुपर्ने बताउँदै काठमाडौंको ढल निकास तथा व्यवस्थापनको लागि एउटा जिमेवार निकाय हुनुपर्छ भन्ने विषयमा सरोकार निकायबीच छलफल भइरहेको बताए।

यसैबीच वार्षिकोत्सवको अवसरमा बोर्डले फुटसल प्रतियोगिता पनि गराएको थियो। प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। जसमा बोर्डका वरिष्ठ वित्त अधिकृत रामचन्द्र ढकालको टीम प्रथम र डिएसपी रामकुमार दानीको टीम द्वितीय भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्