काठमाडौं, ५ बैशाख। ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो।
करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए। गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीन महिने कार्ययोजना बनाएर काम शुरु गरेको हो।
महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ।
यस्तै ५ सय १ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीन महिने कार्ययोजना बनाएर काम गरेको जानकारी दिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाभित्रको ट्राफिक सुधारका लागि कार्ययोजना महत्वपूर्ण भएको बताए।



लाेकपाटी न्यूज
