काठमाडौं, ५ बैशाख। पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहिवार धर्ना दिएका हुन्।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका थिए। समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने पत्रकारहरुको माग छ। ठगीको समाचार लेखेको अभियोगमा पत्रकार गिरी सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ परेका थिए।
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो। उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ। तर, पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेका छन्।
दबावका लागि बिहिवार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ। पत्रकारहरुले विद्युतीय कारोबार ऐनका दफा ४७ र ४८ खारेजीको माग समेत गरेका छन्।



लाेकपाटी न्यूज
