मेलम्चीसँगै अरु आयोजना पनि बनाउँछौं : डा. राणा

sanjeev
लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौंमा खानेपानीको माग पूरा हुन नसकेको बताएका छन् ।

सरकारले माग र आपूर्तिबीच रहेको ठूलो खाडललाई परिपूर्ति गर्न मेलम्ची खानेपानी आयोजना अगाडि बढाए पनि अन्तिम समयमा आएर केही समस्या देखिएका कारण केही ढिला भएको उनको भनाइ छ । उनले भने, ‘त्यसले गर्दाखेरि हामीले आशातीत रुपमा पानी सप्लाई गर्न नसकेको अवस्था छ । त्यसको बाबजुद हामीसँग उपलब्ध सीमित स्राेतसाधनलाई परिचालन गरेर हामीले अहिलेसम्म खानेपानीको सेवा प्रदान गर्दै आएका छौं ।’

उनले शुरुका दिनहरुमा नियमावली, निर्देशिका निर्माण हुन नसक्दा कानूनी जटिलता भोग्नु परेको बताउँदै विगतमा हामीले नियमावली संशोधन गरेर टयांकर सेवालाई नियमित गरेको प्रष्ट पारे ।

उनले भने, ‘भूमिगत स्रोतको व्यवस्थापनमा पनि धेरै अगाडि बढिसकेका छौं । करिब ८० प्रतिशत कानूनी दायरामा आइसकेका छन् । त्यसलाई निकट भविष्यमा शत प्रतिशत पुर्‍याउने गरी काम गरिरहेका छौं । भूमिगत स्रोतको व्यवस्थापनमा महसुल लगाउन गरी अगाडि बढेका छौं ।’

निर्देशक राणाले सर्वसाधारणले सुलभ रुपमा गुणस्तरीय पानी पाउन भन्ने उद्धेश्यले पाइलट प्रोजेक्टका रुपमा वाटर एटिम शुरु गरेको पनि बताए । मानिसहरुको धेरै भीड लाग्ने २० स्थानमा ठाउँमा वाटर एटीएम राख्ने योजना रहेको उनले जानकारी दिए। उनले भने, ‘एक लिटरको ५ रुपैयाँमा सेवा दिने तयारीमा छौं । सरकारी अस्पताल, पशुपति, बौद्धनाथ, स्वयम्भुजस्ता मानिसको धेरै भीडभाड हुने बीस स्थानमा वाटर एटिएम राख्ने सोचमा छौं ।’

यस्तै उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमन, टयांकर सेवाको अनुगमन, भूमिगत स्रोतको व्यवस्थापन गर्ने कार्य गरिरहेको बताए । ‘सन् २०३० देखि २०५० सम्मको खानेपानी तथा ढल निकास सेवाको मास्टर प्यालन बनाउँदैछौं’ उनले भने, ‘अब सो मास्टर प्यानलका आधारमा मात्र खानेपानी र ढल निकासको काम हुने मैले विश्वास लिएको छु।’ अहिले काठमाडौंले जे समस्या भोगेको छ त्यो नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको उनको भनाइ छ ।

उनले काठमाडौंमा जनसंख्या वृद्धिलाई हेर्दा मेलम्ची आइसकेपछि पनि पानीको अभाव हुनसक्ने बताए । त्यसकारण वैकल्पिक स्रोतका बारेमा तयारी गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भने, ‘अहिले तीन वटा स्रोत पहिचान गरेका छौं । महादेवखोला, सिस्नेरी खोला र ठोस्ने खोलाको सम्भाव्यता अध्ययन भएको छ । विस्तृत काम गर्न डोनरको खोजीमा छौं ।’

विस्तृत काम गर्न डोनरको खोजीमा रहेकाे बताउँदै उनले मेलम्चीको पानी छिटै आउँछ भन्ने विश्वास लिएको बताए।बर्षाको बेला बाग्मतीमा बढेको पानीलाई प्रयोग गरेर राहत दिन सकिने समेत उनकाे भनाइ छ ।