यी हुन् नेपालका बिकराल चार अपराध

sp ashok
लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख। महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समयमा बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

परिसरका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पछिल्लो समय यस प्रकारका अपराध बढेको जानकारी दिएका हुन्। बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेकोले यसतर्फ प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर कारवाही अभियान चलाइएको एसपी सिंहले बताए।

अपराध बढेसँगै काठमाडौंं जिल्लामा विभिन्न आपराधिक घटनामा संलग्न पाँच हजार बढी व्यक्तिलाई पक्राउ गरी प्रहरीले कानूनी दायरामा ल्याएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा चार हजार ७ सय ६१ मुद्दाका पाँच हजार ३ सय ५८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको हो।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले परिसर र काठमाडौँका विभिन्न प्रहरीवृत्तमा आएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको बताए। बोगटीका अनुसार पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, गठी, अभद्र व्यवहार, लागुऔषध, चोरी, जुवातास, भवितव्य ज्यान मुद्दा लागेको छ।

नौं महिनाको अवधीमा परिसरबाटै झण्डै एक हजार मुद्दामा ८ सय ३१ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ। प्रहरीवृत्त बानेश्वर, बालाजु, कमलपोखरी, लैन चौर, थानकोट, सिंहदरबार, बौद्ध, स्वयम्भू, गौशाला, कीर्तिपुर, महाराजगञ्ज, दरबारमार्ग र कालिमाटीमा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कारवाही थालिएको परिसरले जनाएको छ।

यस्तै भारतीय नागरिकसमेत लुटपाट र ठगीमा सक्रिय हुने गरेको पाइएको छ। नक्कली वस्तुलाई सक्कली भनेर ठगी गर्ने गिरोहसमेत सक्रिय भएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए। यसतर्फ सचेत हुन र समयमै सूचना दिनसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्