यस्तो छ आजको मौसम, ‘एलनिनो’ ले देशभरको मौसममा प्रभाव

mausam-1
लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख। विगतका वर्षमा चैत वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टङ्गिन्थ्यो। उखरमाउलो गर्मीपछि जेठका अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्र्न्थ्यो तर पूर्व मनसुन अर्थात् प्रि– मनसुन नै यो पटक भने वर्षाजस्तै भएको छ।

दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यो वर्ष हिउँद सकिने वित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद् मौसमविद् प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुद्रको पानीको तापक्रमको आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ। “

तातो तापक्रम भएमा ‘एलनिनो’ विकसित हुन्छ अनि चिसो तापक्रम भएमा ‘लानिनो’ विकसित हुन्छ,” मानन्धरले भनिन्, “एलनिनोले पानी पर्ने छाँट देखाउँछ भने लानिनाले बढी पानी पर्ने सङ्केत गर्छ।” एलनिनो कमजोर रहँदा स्थानीय र अन्य वायुको प्रभाव थपिँदा पानी पर्ने क्रममा घटबढ भइरहन्छ।

अहिले एलनिनोको प्रभावले पूर्व मनसुन बलियो भइरहेको मौसमविद्हरूको भनाइ छ। प्रि–मनसुनमा कमजोर एलनिनो मौसम प्रणालीमा पश्चिमी वायुको प्रभाव परेको मौसमविद् मानन्धरले जानकारी दिइन्। एलनिनोमा सामान्यतया बलियो र कमजोर दुईथरी प्रभाव देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले गरिरहेको झण्डै दुई महिनाको पूर्वानुमानले पनि पानी पर्ने र रोकिने क्रम जारी रहेको छ।

मङ्गलबारदेखि तीन दिनको पूर्वानुमानले समेत देशका पश्चिमी, पूर्वी तथा मध्य क्षेत्रमा मेघ गर्जन, चट्याङ तथा हुरी बताससहित पानी पर्दै रोकिँदै गर्ने बताएको छ। केही हिमाली भेगमा भने हिउँ पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार दुईदेखि सातवर्षको अन्तरालमा एलनिनो दोहोरिने गर्छ।

“एउटा चक्रजस्तै निश्चित अवधिमा एलनिनो र लानिना आउजाउ गरिरहन्छ,” उनलेभनिन्, “पोहोर परारको जस्तो घाम लागेर गर्मी हुने भन्दा मनसुन झैं पानी परिरहेको छ यो वर्ष ।”  पश्चिममा न्यून चापीय रेखाको निर्माण भइरहनु र बादलभित्र मौसमी चक्रको निर्माण कारण पानी पर्ने थप कारण रहेको उनले प्रष्ट्याइन्।

गोरखापत्रमा चाँदी हममालले समाचार लेखेकीछिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्