सकियाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन-वेकाे काम

pokhara airport.JPG01
लाेकपाटी न्यूज

काठमाडौं, ०४ चैत । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे निर्माणको काम सकिएको छ । रन–वे को काम सकिएसँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने राष्ट्रिय गौरवको आयोजना बन्ने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमानस्थलको मुख्य निर्माणको कामका रुपमा रहेको रन–वेको काम सकिएको हो । २५ सय मिटरको यो रन–वेमा ढलान गरिएको छ । अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पोखरामा पहिलो पटक रन–वेमै ढलान गरिएको हो । यो रन–वेमा अबको ३० वर्षसम्म पनि समस्या नआउने बताइएकोे छ ।

महानिर्देशक गौतमले भने, ‘मुख्य काम सकिएपछि अब हामी यो विमानस्थल तोकिएको मितिभन्दा पहिल्यै सञ्चालनमा ल्याउन सकिने निश्कर्षमा पुगेका छौं।’

विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने ट्याक्सी वे निर्माणको काम पनि भइरहेको छ । मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

अहिले पनि विमानस्थलमा धमाधम काम भइरहेको छ । सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भएपनि अब सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिएको उनले बताए।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण भइरहेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तराष्ट्र्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ ।

विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्याश गरेका थिए । झन्डै २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको विमानस्थल सन् २० भित्रै सञ्चालनमा आए त्यो नेपालको विकास आयोजनमा नमूना बन्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्