एकताको भाका वैशाख ९ : टर्ने सम्भावना कति ?

Prachanda-Oli
लाेकपाटी न्यूज

काठमाडौं, ०४ वैशाख। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरुलाई समेत पार्टीको जिल्ला अध्यक्ष र सचिव बनाउन सकिने गरीको मध्यमार्गी प्रस्ताव गरेका छन् । प्रचण्डको यस्तो प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपाल सहमत देखिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेका छन्।

नेकपाले जनप्रतिनिधि भइसकेकालाई पार्टीको कार्याकारी भूमिकामा रहने गरी जिल्ला अध्यक्ष र सचिव नबनाउने गरी मापदण्ड बनाएको थियो । तर, प्रदेश ५ लगायतका ठाउँमा ओली समूहले मापदण्ड विपरीत वरिष्ठता मिचेर आफ्नो समूहका नेताहरुको नाम पठाएपछि त्यसमा माधवकुमार नेपाल समूहले आपत्ति जनाएको थियो । वरिष्ठताका आधारमा जिम्मेवारी दिनुपर्ने माधव नेपाल समूहले तर्क राख्दै आएको छ ।

पूर्वएमाले समूहमा देखिएको यही विवादका कारण तत्कालीन एमाले र माओवादीबीच भागबण्डा लगभग मिल्दा पनि नेकपाले जिल्ला अध्यक्ष र सचिवहरु तोक्न सकेको छैन ।

पछिल्लो समय माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी समेत दिइरहेको छ। नेकपा सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच यसबारे छलफल जारी रहेको छ । यो छलफलमा प्रचण्डले जनप्रतिनिधि भइसकेका भए पनि जुन पद छ, त्यही जिम्मेवारी दिने प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

माधवकुमार नेपालनिकट एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावकै आधारमा मापदण्ड बनाउने हो भने सहमति हुन सक्ने सम्भावना बढेको छ । नेकपाका नेताहरुले पार्टी एकताका बाँकी काम टुंग्याउन ९ वैशाखको नयाँ भाका राखेका छन् । तर, अब चार दिनमा सहमति जुट्ने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् ।

जिल्लासँगै प्रदेश कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया पनि टुंगो लाग्न बाँकी छ । एक नेता भन्छन्, ‘नेताहरुले भन्नु एउटा हो तर, ९ वैशाखमा पनि एकता प्रक्रिया पूरा हुने संकेत देखिएको छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्