जुम्ला, ४ बैशाख। राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले जागिर खाएर पनि घर खर्च चलाउन ऋण खोज्नुपर्ने अवस्था भएको बताएका छन्। उनले अहिले ऋण पत्याउन पनि साहुले छोडकोले छोराछोरीको अध्ययन र घरखर्च चलाउन गाह्रो भएको छ बताए।
यस्तै ,हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहले भने “केही समयका लागि भनेर ऋण÷सापटी लिएका थिएँ, दिने मानिसले माग्न थालेपछि फोन बन्द गर्नुपर्ने बाध्यता छ”, उनले भने, “तलब आउने वित्तिकै दिन्छु भनेर पैसा ऋण लिएँ तर आज पाँच महिना भयो, स्थानीय सरकारलाई तलब खुवाउनुपर्छ भन्ने मतलब नै छैन।”
यस्तै,गुठीचौर गाउँपालिकाका स्वास्थ्य संयोजक बालाराम नेपालीले लामो समयको सङ्घर्षपछि अब तलब पाउने आशा रहेको बताए। “अब सम्भवतः दुई÷चार दिनभित्रै शिक्षक तथा कर्मचारीको खातामा तलब जान्छ”, उनले भने, “फागुनसम्मको तलब सबैले पाउँछन्।”
यता तिला गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश नेपालीले असोजदेखिको तलब भत्ता खान नपाउँदा ऋणी हुनुपरेको बताए। “आजका दिनसम्म सुत्केरीहरुले यातायात खर्च पाएका छैनन्”, संयोजक नेपालीले भने, “स्वयंसेविकाले पोशाक भत्तासमेत पाएका छन् ।” तलब नपाउँदा बालबालिकाको अध्ययन पनि प्रभावित भएको बताए।
स्थानीय सरकारको कमजोरीका कारण शिक्षा तथा स्वास्थ्यका कर्मचारीले दुःख खेप्नु परेको शिक्षक रणबहादुर रावतले बताए। तलब नपाउँदा शिक्षक, स्वास्थ्यकर्मीले तनावमा काम गर्नुपरेको उनको भनाइ छ। काम गरेर पाउने ज्यालाका निम्ति पनि सरकारसँग लामो लडाइँ गर्नुपरेकोमा उनले आक्रोष व्यक्त गरे।
जुम्ला जिल्लामा कार्यरत शिक्षा र स्वास्थ्यका करीब एक हजार ७ सय ४१ शिक्षक कर्मचारी र स्वास्थ्यकर्मीले दोस्रो चौमासिक तलब खान पाइने अपेक्षा गरेका छन्।



लाेकपाटी न्यूज
