काठमाडौं, ४ बैशाख । विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा पक्राउ परेका छन् । भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका अध्यक्ष थापासहित नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशीलका अध्यक्ष उज्वल थापासहित एक दर्जन बढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रधानमन्त्री निवास, प्रधानन्यायाधिश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्गा भूमाफियामार्फत् सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी९नेकपा०का महासचिव विष्णु पौडेलको नाममा समेत बिक्री गरिएको भन्दै त्यसको विरोधमा विवेकशील नेपाली दलका नेता, कार्यकर्ता स्थानीयसहित उत्रिएका थिए ।
उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनेक्रममा उनीहरुले सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न पाउने नागरिकको हकमाथि हनन् गरिएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।
देशभरका सरकारी जग्गा भूमाफियाको कब्जामा पर्न नदिन सबै सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने अभियान संचालन गर्नु परेको दलका अध्यक्ष थापाले जानकारी दिए ।
दलका नेता, कार्यकर्ताहरुले बालुवाटारमा रहेको १ सय १४ रोपनी सो जग्गा भूमाफियाबाट फिर्ता लिएर नागरिकका लागि उपयोग गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।



लाेकपाटी न्यूज

