विप्लवसँग वार्ता भइरहेकाे छ : गृहमन्त्री

Ram Bahadur Thapa
लाेकपाटी न्यूज

हेटौंडा, ४ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ताप्रक्रिया भइरहेको बताएका छन् ।

३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री थापाले संविधानविरुद्धका उसका गतिविधिका कारण प्रतिबन्ध लगाएको बताउँदै विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीलाई मूलधारको राजनीतिमा ल्याउने प्रयास भइरहेको बताए ।

‘संविधानले प्रतिबन्ध गरेका गतिविधि गरेकाले विप्लव समूहलाई हामीले प्रतिबन्ध लगाएका थियौं’, कुनै बेलाका आफ्नै सहयात्री विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउनुको कारणबारे प्रष्ट पार्दै थापाले अगाडि भने, ‘उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ ।’

तर, उनले मूलधारको राजनीतिमा विप्लवलाई फर्काउन कस्तो प्रयत्न भइरहेको छ भन्नेबारेमा भने केही पनि खुलाएनन् । संविधान विरोधी क्रियाकलाप गरेकाले विप्लवका शीर्ष नेताहरु पक्राउ परेको उनले उक्त अवसरमा बताए ।

गृहमन्त्री थापाले राज्य विरोध गतिविधि गरेको समयमा सीके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गराए ।