काठमाडौं, ०३ वैशाख। दाङ, कन्चनपुर, खोटाङ, सुनसरी, ओखलढुङ्गा र मोरङका विभिन्न स्थानमा आगलागी हुँदा करिब ३४ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङको राप्ती गाउँपालिका–७ छोड्के सिसहनिया बस्ने ८० वर्षीया जिउरखन चौधरीको फुसको छानो भएको घरमा सोमबार साँझ लामखुट्टे भगाउन बालेको धुपबाट आगो सल्किन गई आगलागी हुँदा सुतिरहेका चौधरीको जली घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै कन्चनपुरको बेदकोट नगरपालिका–७ बसन्तपुर बस्ने खगराज पाठकको घरमा सोमबार दिउँसो फोहर जलाउन बालेको आगोबाट आगलागी भई गोठमा समेत फैलिएर आगलागी हुँदा घर र गोठ जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–११ कोथिका बस्ने भिमबहादुर तामाङको फुसको छानो भएको घरमा सोमबार दिउसो आगलागी भई टंक तामाङको घरमा समेत फैलिएर दुबै जनाको २ वटा घर र घरमा रहेको नगद तथा काठपात जली करिब ९ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित हरी राईको घरमा रहेको रुइ पेल्ने मेशिनबाट आगो निस्कन गई सोमबार दिउसो आगलागी हुँदा मेशिन र रुइ जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ निसंखे बजार नजिक बस्ने तिलकबहादुर कार्कीको फुसको छानो घरमा सोमबार साँझ आगलागी हुँदा घर जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरि मोरङको कटहरी गाउँपालिका–५ बस्ने राधे कामतको कुखुरा फारममा सोमबार राति आगलागी हुँदा कुखुराको फर्म, कुखुरा तथा नजिकै रहेको २ वटा परालको कुन्यु समेत जली करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज
