खानेपानी मन्त्रीद्वारा गोलढुंगामा पानी ट्यांकीको शिलान्यास

bina magar
लाेकपाटी न्यूज

काठमाडौं, ०३ वैशाख । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत गोलढुंगामा घट्टेपाखा खानेपानी ट्यांकीको आज शिलान्यास गरेकी छन्।

तारकेश्वर नगरपालिकामा पर्ने गोलढुंगामा खानेपानीको अभाव हुँदै जान थालेपछि उक्त क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउने उद्देश्यले पानी ट्यांकीको शिलान्यास गरिएको हो । गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले औपचारिक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रीबाट पानी ट्यांकीको शिलान्यास गराएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु¥याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको बताइन्। उनले सन् २०३० सम्ममा प्रशोधनसहितको खानेपानीको सुविधा शत–प्रतिशत पुर्याउन सरकार लागिरहेको जानकारी दिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘दीगो विकासका लक्ष्यहरु पूरा गर्नुपर्ने दायित्व हामीसँग छ । प्रशोधनसहित खानेपानीको पहुँच पुर्याउन धेरै लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’

मन्त्री मगरले जनतालाई मालिक बनाउन खानेपानीको क्षेत्रमा सहलगानी मोडालिटीमा आयोजनाहरु अघि बढाइएको बताइन्। खानेपानीमा जनताको प्रत्यक्ष सहभागिता गराएर मात्रै आयोजनाहरु अघि बढाउँदा समयमै काम सकिने र सफल हुने उनको भनाइ छ। ‘जनताले आफैं लगानी गरेको आयोजनाहरु सफल भएका छन् । सरकारको ७० प्रतिशत र जनताको ३० प्रतिशत लगानीमा आधारित आयोजनाहरु अघि बढाउन हाम्रो टीमले काम गरिरहेको छ । अन्नका लागि मात्रै नभई पानीका लागि पनि हामी संघर्ष गर्नुपर्छ’ उनले भनिन्।

गोलढुंगामा शिलान्यास भएको पानी ट्यांकीको लागत ५० लाख रुपैंया रहेको छ भने उक्त ट्यांकीको क्षमता २ लाख २० हजार लिटर रहेको छ । समितिले खानेपानी विभाग अन्तर्गतको सहलगानी आयोजनासँग मिलेर तारकेश्वर नगरपालिकाभित्र पाँच वटा पानी ट्यांकीहरु निर्माण गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्