बुटवल, ३ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरले दुई पटक एयरपोर्टबाट फर्काइदिएको छ ।
सोमबार मन्त्री बाँस्कोटा काठमाडौं जानका लागि दुई पटक विमानसस्थल पुगे। प्यूठानबाट अर्घाखाँचीको बाटो हुँदै बुटवल आएका मन्त्री बाँस्कोटालाई बुद्ध एयरले सोमबार साँझ दुई पटक एयरपोर्टबाट फर्काएको हो । मन्त्री बाँस्कोटाले बुद्ध एयरले आफूलगायत कयौँ यात्रुहरूको अपमान गरेको आरोप लगाए।
उनले भने, ‘म मात्रै होइन, अन्य कतिपय यात्रुहरू पनि अलपत्र पर्नुभयो, यस विषयमा पनि समाचार लेख्नुहोस्।’ सोमबार साँझ ५ बजे को अन्तिम फ्लाइटमा काठमाडौं जाने तयारीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गएका मन्त्री बाँस्कोटा केही घण्टा कुरेर जहान नआउने निश्चित भयो भन्ने खबर पाएपछि फर्केका थिए।
अर्कोपटक पुनः काठमाडौंबाट जहाज रुपन्देहीको लागि उडेको खबर पाएपछि मन्त्री बाँस्कोटा विमानस्थलको बाटो लागेका थिए। तर, विमानस्थलमा आएको विमानले मन्त्री बाँस्कोटालाई नै नकुरीकन फर्केर गएपछि मन्त्री बास्कोटाले मंगलबार पत्रकार सम्मेलनमा उक्त गुनासो पोखेका हुन। बुद्ध एयरको भैरहवा शाखाका सिनियर अफिसर डिपी मगरकाअनुसार पहिला मौसममा खराबीको कारण काठमाडौंबाट यति एयरले उडान रद्ध गरे पनि बुद्धले उडान रद्ध गरेको थिएन।
साँझको उडान भएको कारण मौसम खराब हुन सक्ने र १० बजेपश्चात काठमाडौं विमानस्थल मर्मत संम्भारको लागि बन्द हुने भएपछि छिटो छिटो उडान गर्दा मन्त्री छुटेको उनले जानकारी दिए। मगरकाअनुसार काठमाडौंबाट ७स्३२ मिनेटमा उडेको बुद्ध एयर भैरहवा विमानस्थालमा अवतरण गरेको थियो। तर, विमानस्थलमा कार्यरत सुरक्षाकर्मीले मन्त्री नजाने निश्चत भएको भन्दै बुद्ध एयरमा खबर गरेको बताइएको छ। सोही कारणले गर्दा मन्त्री होटलमा आएर बसेका थिए।
पछि पुनः सहायक प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्री जाने भन्ने खबर उक्त वायुसेवा कम्पनीले पाए पनि काठमाडौंबाट बढीमा ८ बजेभन्दा पछि जहाज नउडाउनु, मौसम खराब छ, एयरपोर्ट १० बजे बन्द हुन्छ भनेर खबर आएको र ८ बजेसम्म मन्त्री कुर्दा पनि नआएको कारण मन्त्री जहाजमा छुटेको बुद्ध एयरका सिनियर अफिसर मगरले जानकारी दिए।



लाेकपाटी न्यूज

