बुटवल, ३ बैशाख । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी जग्गा संरक्षण गर्ने सरकारको दायित्व रहेकाले सरकार पछि नहट्ने बताएका छन् ।
रुपन्देहीको मणिग्राममा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका हुन् । ‘अहिले त्यो जग्गा बेचविखन र हस्तान्तरण गर्नका लागि रोक लगाएको छ, त्यो मात्रै होइन सिराहाको पनि ३८ बिगाहा जग्गा पनि त्यस्तो रहेछ, त्यो सरकारले आफ्नो मातहतमा ल्याउँछ’, उनले भने ।
मन्त्री बास्कोटाले दल र विचारका आधारमा सरकार नतमस्तक हुन नसक्ने बताए । उनले भने, ‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने कोहीकसैप्रति कुनै पद वा ओहदा, कुनै दल वा विचारप्रति नतमस्तक हुन सक्दैन ।’ उनले आफूले बालुवाटारको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनेबारेमा आएको समाचारहरुको खण्डन समेत गरे ।
‘मैले सरकारले क्षतिपूर्ति दिन्छ भन्ने कुरा गरेको थिइन’, उनले भने, ‘उहाँले खरिद गरेको जग्गा त सरकारी रहेछ, त्यो बिक्री गर्नेले क्षतिपूर्ति दिनुपर्ला नि भनेको हो, त्यसलाई त्यसैगरी बुझ्नुर्पयो ।’



लाेकपाटी न्यूज

