काठमाडौं, ३ बैशाख । मंगलबारदेखि पुन: तीन दिनसम्म वर्षा र हुरीको सम्भावना रहेको छ । मौसमविद्का अनुसार आज भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिने बताए । ‘अहिले यो वायु भारतको हरियाणा क्षेत्रमा आइपुगेको छ,’ उनले भने, ‘एकरडेढ घण्टादेखि दुईरतीन घण्टासम्ममा नेपाल भित्रिनेछ ।’
यो वायु प्रवेशपछि आज विशेषगरी पश्चिमको तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षाका साथै चट्याङ पर्ने र हुरीबतास चल्ने सम्भावना छ। अपराह्नसम्म यो वायु पश्चिमको पहाडी क्षेत्रमा प्रवेश गर्नेछ। यसैगरी उक्त पश्चिमी वायु भोलि बुधबार पूर्वी क्षेत्रमा सर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘भोलि पूर्वी तराईमा हुरीबतासको सम्भावना छ,’ उनले भने।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ । र, पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरीबताससहित असिना पानी पर्ने सम्भावना छ।
यस्तै राति पश्चिमका धेरैजसो स्थान र मध्ये तथा पूर्वका केही ठाउँमा मेघ गर्जन, चट्याङ, हुरीबताससहित असिना पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ।
मौसमविद् श्रेष्ठले पश्चिमी वायुको प्रभाव मंगलबार र बुधबार दुई दिनसम्म रहन बताए। ‘तर त्यसपछि यसको प्रभाव पूरै हट्ने चाहिँ होइन,’ उनले भने, ‘यसको धेरथोर असर अरू केही दिनसम्म जारी रहनेछ।’ आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नदेखिएको उनको भनाइ छ ।



लाेकपाटी न्यूज
