गैँडा मरेपछि अध्ययन शुरु

Rhino
लाेकपाटी न्यूज

काठमाडौं,३ बैशाख। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ।

एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न थालेको हो ।“

चितवनमा के कारणले गैँडा मर्ने क्रम वढी भयो भनेर हामीले अध्ययन शुरु गरेका छौ”, विभागका प्रवक्ता विष्णु श्रेष्ठले भने, “विभागकै उपमहानिर्देशक रामचन्द्र कँडेलको नेतृत्वमा विज्ञसहितको टोलीले गैँडा मर्नुका कारण र इकोलोजिष्ट हरिभद्र आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोलीले निकुञ्जमा गैँडाको पारवहन क्षमता र वासस्थानको अवस्थाबारेमा अध्ययन गरि रहेको छ।”

दुवै टोलीले प्रारम्भिक तहको अध्ययन गरी सकेको र विस्तृत अध्ययन गरेपछि यसको कारण सार्वजनिक गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। गैँडाको मृत्युका कारण पत्ता लगाउन अध्ययन गरिरहेको विज्ञ टोलीले अहिले वातवरण मन्त्रालयसँग समन्वय गरेर निकुञ्जका विभिन्न ६० स्थानवाट पानीको नमूना सङ्कलन गरी परीक्षण गरिरहेको छ। “

पानीमा प्रदुषण होकी भनेर हामीले नमुना परिक्षण शुरु गरि सकेका छौ”, प्रवक्ता श्रेष्ठले भने। हेटौडा हुदै जाने राप्ती नदीमा वढ्दो औधोगिक क्षेत्रको प्रदुषण र नारायणी नदीमा हुने विभिन्न प्रदुषणले निकुञ्जका पानीहरु प्रदुषित हुन् कि भन्ने अनुमान विज्ञहरुमा भएको हो।

यसका साथै मरेका गैँडाको पोष्टमार्टम पछि केही मासुको भाग लगेर काठमाण्डौंको केन्द्रिय प्रयोगशालामा परिक्षण  गरिदै छ। “  गैँडा कुनै रोगले पनि मरेको हुनुपर्छ भनेर हामीले यसका भित्रि अङ्गका केही भागलाइ काठमाण्डौ ल्याएर पनि परिक्षण गरेका छौ”,उनले भने, “विज्ञ टोलीले यसमा अझै आवश्यकता महशुष गर्यो भने भारत, अमेरिका वा अन्य विकसित राष्ट्रहरुमा समेत नमुना परिक्षणमा पठाइ यसका कारण पहिचान गरिने छ।”

यो वर्ष साउन यता मात्रै चितवनमा ४१ वटा गैँडा कालगतिले मरेका निकुञ्जसँग तथ्याङ्क छ। यो सख्या निकुञ्ज भित्र ३९ र निकुञ्ज वाहिरको राष्ट्रिय वन क्षेत्रमा दुई वटा हो।

पछिल्लो पटक दुई हप्ता अघि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा रहेको टाईगर ल्याण्ड होटलको सेफ्टी ट्याङ्कीमा परेर गैडा मरेको हो। (गोरखापत्रमा समाचार छ) ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्