काठमाडौं, २ बैशाख । सोमबार साँझ नेकपाका तीन बरिष्ठ नेताहरुबीच ‘वार्ता’ हुने भएको छ। पार्टी एकतालाई टुङ्गोमा पुर्याउन आज साँझ नेकपाका तीन बरिष्ठ नेताहरुबीच बालुवाटारमा वार्ता हुने भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधव नेपालबीच प्रम निवास बालुवाटारमा वार्ता हुनेछ । नेकपाका अध्यक्षद्वयले पार्टी स्थापना दिवसको दिन पारेर ९ बैशाखसम्म पार्टी एकता टुङ्ग्याइसक्ने योजना बनाएका छन्। त्यसैले, तीन शीर्ष नेताबीच त्यसका लागि छलफल हुन लागेको हो।
यसै विषयमा अध्यक्षद्वयसँग छलफल गर्न नेता नेपाल सोमबार विहानपनि बालुवाटार पुगेका थिए, तर ओली समता स्कूल काठमाडौँ० लाई ‘वल्र्ड बुक अफ रेकर्डस्’ हस्तान्तरण गर्ने कार्यक्रममा व्यस्त भएपछि यो छलफल सोमबार साँझका लागि सारिएको हो।
जिल्ला कमिटीको नेतृत्वमा पूर्व एमाले र पूर्व माओवादी कति कति भाग पाउने भन्ने विषय ओली र प्रचण्डको तहमा टुङ्गिसकेको छ। तर, पूर्व एमालेको भागमा परेको नेतृत्वमा नेताहरुबीच भागबण्डामा समस्या देखिएपछि एकताले पूर्णता पाउन सकिरहेको छैन।
बरिष्ठ नेता नेता नेपालले निश्चित मापदण्ड बनाएरमात्रै जिल्ला नेतृत्वको टुङ्गो लगाउनुपर्ने माग गर्दै आएका छन्। तर, यसमा ओली पक्ष सहमत छैन। नेता नेपालले भागबण्डा खोजेको र यही कारण एकतामा अप्ठ्यारो पारिरहेको ओली पक्षको आरोप छ। नेता नेपालले चाहिँ आफ्नो सहमति विना नेतृत्व तय गरिए अस्वीकार गर्ने चेतावनी दिँदै आएका छन्।
त्यसैले, ९ बैशाख अगावै यो विवाद मिलाउन नेकपाका नेताहरुले पछिल्लो समय आफूलाई केन्द्रित गरेका छन्। त्यसैका लागि २८ चैत्रमा ओली–प्रचण्डका अलावा गृहमन्त्री रामबहादुर थापा (बादल) र नेकपा महासचिव बिष्णु पौडेलबीच चन्द्रागिरी हिल्स होटलमा आवासीय वार्ता समेत भएको थियो।



लाेकपाटी न्यूज

