काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तव्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भीर बहस चलाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले भने, ‘अहिलेसम्म हामीले सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएका हौं । हामीले संविधानपनि सहमतिमै ल्यायौं । संविधान हाम्रो साझा दस्तावेज हो । हामी सबैको कार्यदिशा त्यही हो ।’
उनले धर्मलाई बोकेर हिँड्न नहुने तर्क गरे । उनले भने, ‘धर्म बोकेर हिँड्दा राम्रो हुँदैन। अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला । तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्राे हुन्छ ।’ आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए । उनले भने, ‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पुर्याउनुपर्छ ।’
उनले धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे । शर्माले सुनाए, ‘त्यतिबेला पनि धर्म निरपेक्षता बनाउने हाम्रो माग थिएन। १२ बुँदे सम्झौतापछि हामी सरकारमा आउनुपुर्व नै धर्म निरपेक्षता बनाईयो । त्यतिबेला सरकारमा कांग्रेस र तत्कालिन नेकपा एमाले नै थियो । त्यतिबेला त्यो एजेण्डा नै थिएन् । को बाट आयो ? कहाँबाट आयो ? हामीलाई थाहा थिएन। तर, हामीले विरोध गरेनौं । हामी धर्मको विषयमा पहिलेदेखि नै संवेदनशील थियौं ।’
फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए । उनले भने, ‘सरकारको पहिलो वर्ष आधार वर्ष भयो । ऐन, कानूनहरु ल्याउनुपर्ने थियो । ती सबै ल्याएको छ । अब अर्को वर्षदेखि काम देखिन्छ । आगामी वर्षमा यो सरकारले परिणाम दिन्छ ।’
आफूहरुको अबको एजेण्डा आन्दोलन नभएर मुलुक समृद्ध बनाउनको लागि युद्धस्तरमा काम गर्नुपर्ने रहेको बताए। उनले भने, ‘हामी एक आपसमा नमिलिकन सुखै छैन। एक्लै विकास र समृद्धि हाँसिल गर्न सम्भव छैन।’ लोकतन्त्रको सुन्दर पक्ष भनेको नै भिन्न मतलाई सम्मान गर्ने भएकोले सरकारले प्रतिपक्षलाई निषेध नगर्ने उनले विश्वास दिलाए । उनले भने, ‘जसले निषेधको राजनीतिक गर्छ, त्यो पार्टी टिक्दैन।’
त्यस्तै उनले पार्टीको तल्लो तहको एकता टुँगो लगाउने गरी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेको जनाए । उनकाअनुसार यही बैशाख ०९ गतेसम्म तल्लो तहको एकता टुँगो लाग्छ ।



लाेकपाटी न्यूज

