‘विदेश हाेइन, स्वदेशकै लागि काम गर्ने संकल्प गरौं’ : प्रचण्ड

prachanda -11
लाेकपाटी न्यूज

काठमाडौं, २ बैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुले विदेशीनु ठिक नभएको बताएका छन् ।

उनेले स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि युवा विदेश जानु ठीक नभएको बताएका हुन् । नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा पढेकाहरु यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको भन्दै नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको हुन सक्ने औंल्याए ।

‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुर्पया छ’ उनले भने ‘हाम्रा बाआमाले आत्मनिर्भर नेपाल दिए, हामीलाई स्वाधीन नेपाल दिए । अर्गानिक खानेकुरा दिए । तर हामीले न आधुनिक खेती गरेर न विदेश निर्यात गर्न सक्यौं न खाद्यान्नमा आत्मनिर्भर हुन सक्यौं ।’

प्रचण्डले नेपाल पहिले कृषिमा आत्मनिर्भर भए पनि अहिले उन्नत खेती प्रणालीको विकास भइसकेको बेला विदेशबाट आयात गर्ने अवस्था आउनु दुखदायी भएको बताए । उनले यत्तिका वर्ष हामीले के गर्यौं भनी प्रश्नसमेत गरे । ‘के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं हामीले, यो विषय विचारणीय विषय हो’ प्रचण्डले प्रश्न गरे ।

कृषिमा व्यवसायिकताका लागि विभिन्न कार्यक्रम आए पनि त्यसले कृषि उत्पादन बढाउनुभन्दा घटिरहेको प्रचण्डले बताए । देश विकासको मुख्य मेरुदण्ड कृषि रहेको भन्दै उनले स्वदेशमै श्रम गर्ने पद्धति विकास नभएसम्म कृषिमा आत्मनिर्भर हुन कठिन हुने बताए ।

‘बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार, आफ्नै देशभित्र श्रम गरेर उत्पादन गर्नेतिर प्रवृत्त किन हुन सकेनौं ?’ उनले युवाहरुलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्