काठमाडौं, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान’ कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटमा सरकारले वृद्धभत्ता बढाउने बताएका हुन्। उनले भने, ‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ ।’
उनले बजेट नआई भन्न नमिल्ने भएपनि वृद्धभत्ता बढ्छ भन्ने कुरा सबैलाई थाह भएको बताए । ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेपनि के कति रकम बढाउने भन्ने खुलासा गरेनन् । उनले आफ्नो सरकार बुढाबुढीको भलो चिताउने सरकार भएको दाबी गर्दै भने, ‘यो बूढाबूढीको भलो चिताउने सरकार हो। यसपालिको बजेटमा वृद्धभत्ता बढ्छ। ढुक्क भए हुन्छ।’
प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालीन एमाले सरकारले वृद्धभत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताए।
उनले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको दाबी पनि गरे। अब कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने र त्यस्तो अवस्थाका असहायको सहारा सरकार हुने उनको भनाइ छ। उनले अब अपवाद बाहेक कोही नेपाली रोगी पनि नहुने दाबीसमेत गरे।



लाेकपाटी न्यूज

