मकवानपुर, ०२ वैशाख । सत्तारुढ नेकपा समर्थित नेकपाअन्तर्गतको नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले सरकारविरुद्ध नै आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन यूनिट्राभको ३६ औं स्थापना दिवसको अवसरमा मकवानपुरको चित्लाङमा आयोजित कार्यक्रममा महासचिव चौधरीले भने, ‘अहिले बनेका कानूनहरुले श्रम सम्बन्धलाई सुमधुर पार्ने र यो क्षेत्रलाई सुधार गराएको छ । अब यसलाई व्यवहारमा लागू गर्ने बेला भएको छ । तर, यसबीचमा कानूनको परिपालना नगर्ने चलखेल हुन थालेको हामीलाई आभाष भएको छ । हाम्रा श्रम सम्बन्ध सुधार भएन भने सरकार र सरोकारपक्षको विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था फेरि नआउला भन्न सकिन्न ।’
उनले पर्यटन श्रमिकका पक्षमा श्रम ऐन र सामाजिक सुरक्षा ऐन लागू गराउने पक्षमा लाग्न यूनिट्राभ नेतृत्वलाई निर्देशन पनि दिए । उनले भने, ‘अब श्रम ऐन लागू गराउने पक्षमा लागौं, पर्यटन क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा लागू गराउने स्किम र विधि तयार गर्न यूनिट्राभ लागोस् ।’
कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले विधिसम्मत नचल्ने कोही पनि पर्यटन व्यवसायी र सरोकार पक्षलाई नछाड्ने भन्दै पर्यटन क्षेत्रको सुधारको पक्षमा लाग्न श्रमिकहरुलाई निर्देशन दिए । पेशालाई मर्यादित, सुरक्षित र स्वास्थ बनाउन आफ्ना कुरालाई सम्बन्धित क्षेत्रमा राख्न सक्नुपर्ने भन्दै नेतृत्व विकासमा उनले जोड दिए । कार्यक्रममा सहभागी श्रमिकहरुले अझैपनि लोकतन्त्र आइनसकेको भन्दै अझै संघर्ष गर्नुपर्ने खाँचो औंल्याएका थिए ।



लाेकपाटी न्यूज
