पानीजहाज ल्याउने होइन, सार्वजानिक यातायात व्यवस्थित बनाऊ : शशांक कोइराला

sashanka koirala
लाेकपाटी न्यूज

बनेपा, ०१ वैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा अहिले पानीजहाज चलाउनुभन्दा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।

कांग्रेस बनेपा नगरसमितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकार जनताका अत्यावश्यक काम गर्ने भन्दा ठूला–ठूला सपना बाँड्न लागि परेको आरोप लगाएका छन्। उनले भने, ‘‘नेपाली नागरिक अहिले सार्वजानिक यातायातमा सुधार खोजिरहेका छन् । तर, प्रधानमन्त्री रेल र पानी जहाजको सपना बाँडिरहनुभएको छ । सरकारले काम भन्दा बढी गफ गर्न लागेको छ । यो राम्रो होइन।’’

उनले प्रधानमन्त्री केपी शर्मा ओली जनताका आवश्यकता पूरा गर्ने भन्दा आफू शक्तिशाली बन्ने बाटोको खोजीमा लागेको आरोप लगाए । उनले भने, ‘‘आम नेपाली सहज दैनिक जीवनयापनको बाटो खोजिरहेका छन् । तर, प्रधानमन्त्री ओली न्यायालय आफ्नो पक्षमा पार्ने, नेपाली सेनाको शक्ति आफ्नो हातमा लिने, प्रहरी, प्रशासनमा आफ्नो हातमा पार्ने बाटोको खोजीमा हुनुहुन्छ ।’’

उनले ओली सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेको बताउँदै यो सरकारबाट सुशासन र विधिको शासनको कल्पना गर्न नसक्ने बताए । महामन्त्री कोइरालाले सरकारका गतिविधि हेर्दा कांग्रेसले आफ्नो शक्ति आर्जनमा ढिलाइ गर्न लागेको आफूलाई आभाष भएको बताए । उनले कांग्रेसले शक्ति आर्जनका लागि पहिले आफूबीचमा एकता गर्नुपर्नेमा जोड दिए ।

कोइरालाले आफू कांग्रेसलाई भावनात्मक रुपमा एक बनाउने अभियानमा रहेको समेत स्पष्ट पारे । ‘‘कम्युनिष्टको दुईतिहाइको सरकार छ । यो दुईतिहाइको सरकार अझै शक्ति आर्जन गरेर अधिनायकवादी बन्ने बाटोमा छ,’’ उनले भने, ‘‘यस्तो अवस्थामा कांग्रेसपनि आफ्नो शक्ति आर्जन गर्ने बाटोमा लाग्नु जरुरी छ । कांग्रेसले शक्ति आर्जन गर्ने भनेको आफूबीचमा भावनात्मक रुपमा एक हुने हो । कांग्रेस एक भएमा कसैको केही लाग्ने छैन ।’’