काठमाडौं, १ बैशाख। नयाँ वर्ष २०७६ साल आइतबारबाट शुरु भएको छ। विक्रम संवत् अनुसार वर्ष २०७५ साललाई बिदा गरी वर्ष २०७६ साल आइतबारबाट शुभारम्भ भएको हो।
एकापसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर आइतबार नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ। सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ।
नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा आइतबार नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ। सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ।
हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता,असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आइतबार नयाँ योजनाको सङ्कल्प गर्दछन्। नयाँ बर्षको पहिलो दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ।



लाेकपाटी न्यूज
