‘सिंह होस् वा हरिण, छिटो दौडिने मात्र बाँच्न सक्छ’

KP sharma oli
लाेकपाटी न्यूज

काठमाडौं, १ वैशाख। नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७६ साल नेपाल र नेपालीका लागि समृद्धिको वर्ष हुने बताएका छन्।

नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि वा सुशासन नै आफ्नो लक्ष्य भएको बताएका छन्। प्रधानमन्त्रीले २०७६ सालमा समृद्धि र सुशासनका लागि सरकारले काम गरिरहेको बताएका हुन्।

सम्बोधनमा उनले भने, ‘हामी समृद्धिको यात्रामा छौं। हामी समृद्ध नेपाल, सुखी नेपालीका लागि दृढतापूर्वक अघि बढिरहेका छौं। नयाँ वर्षमा हामीले उल्लेखित सम्पूर्ण कामको जग बसाउँछौं। समृद्धिका लागि हामी रफ्तारमा अघि बढ्छौं।’

‘भ्रष्टाचारविरुद्धको हाम्रो लडाइँ जारी छ। अघिल्लो वर्ष भ्रष्टाचारका विरुद्धमा कठोर कदम चालिएको छ, त्यसको नतिजा पनि आएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्ने व्यक्ति नेपाली हुनै सक्दैन। यसअघि खुलेआम भ्रष्टाचार हुन्थ्यो। तर, अहिले त्यो कमजोर भएको छ। हामीले भ्रष्टाचारमुक्त देशको संकल्प गरेका छौं। म भ्रष्टाचारीको अनुहार पनि हेर्न चाहन्नँ।’

प्रधानमन्त्री ओलीले पृथकतावाद देशबाट सधैंका लागि अन्त्य भएको बताएका छन्। ‘हामीमा डर थियो, देशको स्वाभिमान र एकताको। तर, अब त्यो डर अन्त्य भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘अब देशमा पृथकतावादको अन्त्य भएको छ। शान्ति सल्बलाउने केही तत्वहरु लागिरहेका छन्। तर, अबको युगमा हिंसाको राजनीतिक स्वीकार्य हुन सक्दैन।’

प्रधानमन्त्री ओलीले बिस्तारै हिडेर समृद्धिमा पुग्न नसकिने बताएका छन्। उनले भनेका छन्, ‘युएइका प्रधानमन्त्रीको ‘माई भिजन’ पुस्तक पढें। त्यहाँ उहाँले उल्लेख गरेको एउटा विषय स्मरण गर्न चाहन्छु। जंगलको सिंह होस् वा हरिण, जो छिटो दौडिन्छ, त्यो नै बाँच्न सक्छ।’

‘हामीलाई बिस्तारै हिड्ने छुट छैन। हामी रफ्तारमा दौडिनुपर्छ’ प्रधानमन्त्री ओलीले सम्बोधनमा भने, ‘अफ्रिकी जंगलको सिंह वा हरिणजस्तो दौडिएर मात्रै हामीले विकसित देशलाई पछ्याउन सक्छौं। मैले त्यही संकल्प गरेको छु। सम्पूर्ण नेपालीले यही संकल्प गर्न जरुरी छ।’

प्रधानमन्त्री ओलीले सम्पूर्ण देशबासीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। उनले नागरिकको प्रतिव्यक्ति आय र मानव विकास सूचकांकमा तीब्र विकासको काम गरेका छन्। नयाँ वर्ष २०७६ को पहिलो दिन प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्