पूर्वराजाकाे प्रश्न : देश कहिलेसम्म यस्तै हालतमा रहन्छ ?

gyanendra-shah
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । पूर्व राजा ज्ञानेन्द्र शाहले नेपाली जनताका लागि मानवोचित सुख र शान्ति प्राप्त हुन नसकेको दावी गरेका छन् । उनले नेपाली जनतालाई कहिलेसम्म सुख र शान्तिविहिन अवस्थामा राखिरहने भन्ने प्रश्न गरेका छन् ।

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा देशवासीका नाममा शनिबार शुभकामना सन्देश दिने क्रममा पूर्वराजा शाहले यस्तो प्रश्न गरेका हुन्। ‘लाखौँ नेपाली काम, माम र दामका निम्ति विदेशाी भुमिमा भौतारिनुपर्ने अवस्था’ रहेको दावी गर्दै उनले प्रश्न गरेका छन्, ‘देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने यस्तो नाजुक अवस्था अझै कति रही रहने ?’

राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि नेपाल र नेपाली नागरिकको साथमा आफू रहेको बताउँदै उनले जनताको घर दैलोमा पुग्दा जनताका अनगिन्ती समस्या र दुर्दान्त पीडा पाएको उल्लेख रेका छन्।

विगतमा सबैबाट भएका कमी–कमजोरीको आत्मसमीक्षा गरी मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र एक्यबद्ध भएर अघि बढ्नुको विकल्प नभएकाे उनकाे भनाइ छ ।