सरकारकाे रेल ल्याउने सपना हावादारी होइन : विश्वप्रकाश शर्मा

bishwoprakash sharma
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना जिम्मेवार सपना भएको बताएका छन् ।

उनले प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको बताएका हुन्। पोखरामा शनिबार भएको एक कार्यक्रममा शर्माले रेल ल्याउने योजना कांग्रेसले घोषणापत्रमै उल्लेख गरेकोसमेत स्मरण गराए ।

‘अहिले पनि नगरपालिका भनिएका डाँडाँमा सडक पुगेको छैन । रेल आउनुहुन्न भन्ने होइन,’ शर्माले भने, ‘जसले मेलम्चीको पानी सुरुङबाट छेडेर ल्याउन सकेन उसले पूर्व- पश्चिम रेल ल्याउँछ?’ ओली सरकारले पूर्वपश्चिम रेल ल्याउन नसक्ने उनको भनाइ छ ।

शर्माले बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउनुपर्ने बताए। ‘झापाका धुर्मुस(सुन्तलीले विश्वभरि पैसा उठाएर चितवनमा क्रिक्रेट रंगशाला बनाउने योजना बनाउन सक्ने झापाकै केपी ओलीजीले बूढीगण्डकी बनाउन चीनलाई दिने?,’ शर्माले प्रश्न गरे।

भात पकाउन पनि भाँडा, पानी, चामल र आगो चाहिने बताएका शर्माले मीठो भात पकाउन धैर्यतापूर्वक विवेक चाहिने बताए। ‘बिकास सुस्त-सुस्त हुन्छ,’ उनले भने, ‘कांग्रेसलाई सुस्त पार्टी भन्छन् नि! विकास हुने नै सुस्त हो।’ माओबादी र राजाको गोलीका बीचबाट कांग्रेसले सुस्त-सुस्त विकास गरेको उनको दाबी छ ।