ओखलढुंगा, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रमेश लेखकले ओली सरकारलाई पाकेको फर्सीको संघ्या दिएका छन् ।
उनले वर्तमान ओली सरकार पाकेको फर्सी भएकाले आफै ढल्ने दाबी गरेका हुन् । प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले ‘अपराध र भ्रष्टाचारमा डुबेको सरकार फर्सी’जस्तो भएको बताएका हुन् ।
उनले भने, ‘फर्सी त आफै झर्छ, बेलो चुडिँयो भने खतरा हुनसक्छ ।’ उनले फर्सीलाई सरकार र बेलोलाई लोकतन्त्रका रुपमा व्याख्या गर्दै बेलो चुँडिन दिन नहुने बताए । पूर्व मन्त्रीसमेत रहेका नेता लेखकले देशैभरि डोजरको खेती चलिरहेको बताए । विकास निर्माणका नाममा भ्रष्टाचार भइरहेकाले यसमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जोगिनु पर्ने उनको भनाइ छ ।
कार्यकर्ताहरुलाई प्रशिक्षण दिदैं लेखकले अहिलेको सरकार चिल देखाएर कुखुरा खाने स्याल प्रवृत्तिको भएको आरोप समेत लगाएका छन् । सरकार पानीजहाज र रेलको सपनामा नागरिकलाई भुलाएर विकास होइन भ्रष्टाचार गर्न तल्लीन रहेको उनकोे भनाइ छ । उनले सरकारका गतिविधिले राष्ट्रिय रुपमा नैराश्यता आएकाले नागरिकलाई निराश हुन नदिन का्रग्रेसले भूमिका खेल्ने बताए ।
ओखलढुंगा महोत्सवमा सहभागी हुन आएका नेता लेखकले कांग्रेसले चुनावमा हार व्यहोरेको समीक्षासमेत कार्यकर्तालाई सुनाए । उनले टिकट वितरण, उम्मेदवार छनौट, दुई पार्टीको एकतालगायतका कारणले पार्टी हारेको बताएका छन् ।



लाेकपाटी न्यूज

