आज चैते दसैं र राम नवमी पर्व मनाइँदै

bhagwan ram
लाेकपाटी न्यूज

काठमाडौं, ३० चैत। शनिबार चैते दसैं तथा रामनवमी पर्व। चैते दसैंको भोलिपल्ट रामनवमी पर्व मनाइने गरेको भए पनि यस वर्ष दुवै तिथि एकै दिन परेकाले चैते दसैं तथा रामनवमी पर्व एकै दिन मनाइँदै छ।

चैते दसैं शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ। चैते दसैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने परम्परा छ। असुर शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैंलाई नेपाली समाजमा महत्वका साथ हेरिन्छ।

वर्षमा दुई पटक, चैत र असोजमा मनाइने दसैंका अवसरमा गरिने दुर्गा पूजाको विशेष महत्व छ। यस्तै रामनवमीको अवसरमा श्रद्धा तथा भक्तिपूर्वक मर्यादा पुरुषोत्तम श्रीरामको पूजा आराधना गरिँदै छ।

हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ। देशभरका राम मन्दिरहरुमा पूजापाठ गरी यो चाड मनाइँदै छ।असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको हो।

त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ। देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्