काठमाडौं, २९ चैत । सरकारले गरेको कर्मचारी समायोजनको विषयलाई लिएर चिकित्सकले गरिरहेको आन्दोलनमा सरकार लचिलो नहुने संकेत देखिएको छ । सही माग पूरा गर्न सधैं तयार रहेको बताउँदै सूचना, सञ्चार तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले डाक्टर हड्तालमा उत्रिन नहुने बताए ।
उनले आन्दोलनरत चिकित्सकलाई सम्बोधन गर्दै भने, ‘त्यो बर्दी लगाएर एकैपल्ट हड्तालम उत्रिन सुहाउँछ कि सुहाउँदैन ? कुरा बुझाउनु र बुझ्नुभन्दा पहिले नै हंगामा पैदा प्रवृत्तिको झलकका रुपमा चिकित्सकको वर्तमान आन्दोलनलाई सरकारले लिएको छ।
प्राविधिक समस्या समाधान गर्न सरकार तयार हुँदाहुँदै चिकित्सकहरु आन्दोलित भएको सरकारको बुझाइ छ । प्रवक्ता बाँस्कोटाले भने, ‘प्राविधिक समस्या समाधान गर्न सरकार तयार छ । हामी विशेष हौं । हामी जहाँ छौं । त्यहीँ जनता उपचार गर्न आउँछन् भन्ने कुरा मान्य हुँदैन।’
नमिलेका विषयमा सम्बन्धित मन्त्रालय मार्फत् आउँदा सरकारले समस्या समाधान गर्ने उनले बताए । चिकित्सकले सहर ताकेर आन्दोलन गरिरहेको रुपमा लिँदै उनल थपे, ‘जहाँ जनता बस्छन् । त्यहाँ सरकारी सेवा पुग्छ । चाहे चिकित्सा होस्, इञ्जिनियरिङ होस् वा अरु केही हामी र्पुयाउँछौं।’ ठूलो संख्यामा समायोजन प्रक्रिया हुँदा केही प्राविधिक त्रुटी हुने भन्दै त्यो विस्तारै मिलाइँदै जाने उनले बताए । ‘दरबन्दी नरहेको ठाउँमा, वृत्ति विकासका कुरा, विदेश पढिरहेका कुरा प्राविधिक हुन् । यी व्यवहारिक समस्या हुन् । यी समस्याको समाधान गर्ने दायित्व सरकारको हो,’ उनले भने,‘यसबाहेक पनि अप्ठ्यारो बनाउने ढंगले र गिजोल्ने ढंगले आन्दोलन भइरहेको छ।’
समायोजनका विषयमा सरकार स्पष्ट रहेको बताउँदै पछि नहट्ने संकेत उनले गरे। उनले भने, ‘शक्ति प्रदर्शन गरेपछि जे पनि हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ । औषधी गर्ने पेशामा पनि हड्ताल गर्दा चिकित्सकको मर्यादा कायम रहन्छ कि रहन्न । यसतर्फ उहाँहरुले सोच्नुपर्छ ।’सही मागमा वार्ताका लागि सरकार सदा तयार रहेको बताउँदै आन्दोलनले ठूलो रुप नलिने उनले बताए । उनले भने, ‘आन्दोलन एक दुई दिन चल्छ । त्यसपछि टुंगिन्छ।’



लाेकपाटी न्यूज

