नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन् : मन्त्री यादव

dr surendra yadav
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री यादवले नेपालको स्वास्थ्य सेवा धान्ने भनेको नै निजी चिकित्सक भएको बताएका हुन् । उनले भने, ‘आउने दिनमा यसलाई सुधार गर्नुपर्छ ।’ मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनप्रति सरकार गम्भीर भएको भन्दै सेवामा फर्कन आग्रह समेत गरे ।

उनले चिकित्सकसँग यसअघि गरिएको सहमति नै कार्यान्वयन हुदा चिकित्सकले आन्दोलन गरेको आरोप पनि लगाए । समायोजनको बिषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सहजीकरण मात्र गर्नसक्ने उनको भनाई थियो । उनले आन्दोलनरत चिकित्सकहरुलाई संविधान पढ्नसमेत आग्रह गरे ।

उनले विगतमा सरकारी चिकित्सकहरुले आफूहरु स्वास्थ्य ऐनअन्तर्गत रहन्छौं र संघीय निजामती ऐन मान्दैनौं भनेर किन नभनेको भन्दै प्रश्नसमेत तेर्साए । उनले भने, ‘संघीय निजामती ऐनअन्तर्गत फारामपनि भर्नुभयो, मैले अघि त्यही कुरा सोध्न लगाएको हुँ । जुन ऐनअन्तर्गत तपाईले फाराम भर्नुहुन्छ भने त्यो ऐनअन्तर्गत जाने कि नजाने ? म टेक्निकल व्यक्ति छु भनेर हुँदैन् । पहिले संविधान पढ्नुहोस् । नेपालमा हामी जहाँ बसिरहेका छौं, त्यहाँको के कानून छ ? अहिले ७६१ वटा सरकार छन् ।’

सरकारी चिकित्सकहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै मन्त्री यादवले भने,‘स्वास्थ्य मन्त्रालयले जहिलेपनि आफ्नो काम गरिरहेको छ । गोदानसँग भएको सम्झौता हेर्नुहोस्, हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेछ, लेखि पठाउनेछ भनेर सहमति गरिएको छ ।’

सरकारी चिकित्सकहरुले नेपाल मेडिकल एशोसिएशनलाई गुहार्नु भनेको उनीहरुको अपरिपक्वता भएको पनि मन्त्री यादको आरोप छ । उनले भने,‘म आँफै गोदानका चार वटा डाक्टरहरुलाई लिएर संघीय मामिलामन्त्री लालबाबु पण्डितको घरमा पुगें, मेरो मन्त्रालयका सचिवलाई पनि साथै लिएर गएको थिएँ । उहाँहरुसँग डिसिजन गर्ने क्षमता त हुनुपर्छ ।’ अहिलेसम्म चिकित्सकहरुले खाइपाई आईरहेको सेवा तथा सुविधा र वृद्धिविकास कम नहुने विश्वास मन्त्री पण्डितले दिलाएको उनले सुनाए । उनले चिकित्सकहरु संघीय सरकार अन्तर्गत भर्ना भएपनि संविधानअनुसार तीन तहमा जान गाह«ो नमान्न पनि आग्रह गरे ।

मन्त्री यादवले विराटनगर, विरगञ्ज, डडेलधुरा, नेपालगञ्ज र भरतपुर अस्पताललाई पाँच सय बेड बनाउन लागिएको पनि उनले जनाए । उनले अब सरकारी अस्पतालमा सुधारको संकेतहरु देखा परेको पनि दाबी गरे । त्यस्तै मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनको असर सरकारी अस्पतालमा नपरेको दाबी समेत गरे । उनले भने,‘मैले त हिजोमात्रै थापालीस्थित् प्रसुति गृहमा पुगेर चिकित्सक को–को अनुपस्थित् छन् भनेर सोध्दा कोही पनि अनुपस्थित् भएको पाईएन् । हामीले अस्पतालको निरन्तर अनुगमन गरिरहेका छौं ।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकको सेवा÷सुविधाका बारेका सरकारले प्रतिवद्धता जनाए आन्दोलन फिर्ता हुने विश्वास दिलाए । उनले चिकित्सकको मागका बारेमा सरकार गम्भीर नभएको आरोप लगाए ।

उनले सरकारले चिकित्सा क्षेत्रको मर्म र भावना नबुझी हचुवाको भरमा समायोजन ऐन ल्याएको पनि गुनासो पोखे । उनले भने,‘यसले भोलि नेपालको स्वास्थ्य क्षेत्रमा दिर्घकालिन असर पर्छ । अहिलेको समायोजनले एउटा तहबाट अर्को तहमा जानै नमिल्ने बाध्यतात्मक अवस्था सिर्जना गरेको छ । हामीलाई संघीयतासँग सरोकार छैन।’

उनले केही मन्त्रीहरुको बोली अभद्र रहेको पनि टिप्पणी गरे । उनले भने,‘गार्जियनजस्तो व्यक्तिले अभद्र बोली बोल्ने गर्नुभएको छ । चिकित्सक भनेका साधन हुन् । सही तरिकाले प्रयोग गर्नुपर्छ ।’ सरकारले समायोजनमा नजाने चिकित्सकलाई कारबाही गर्छु भनेर धम्की दिएको सुनाउँदै उनले भने,‘चिकित्सकहरुले त राजीनामा नै दिन्छु भन्नुभएको छ । योभन्दा ठूलो कारबाही के हुन्छ ?’

विज्ञहरुसँग सल्लाह नगरी समायोजन गर्ने काम भएको बताउँदै उनले सरकारको यो कदमले चिकित्सकहरुको मनोबल गिरेको गुनासो पोखे । उनले भने,‘सरकारी चिकित्सकहरुलाई समायोजनमा जान कुनै आपत्ति छैन् । तर, त्यहाँ गएपछि निस्किने वातावरण छैन। हो, निस्किने वातावरण बनाउनुपर्छ भनेर हामीले भनेका छौं ।’ सरकारी चिकित्सकहरुको आन्दोलनमा नेपाल चिकित्सक संघले एक्येबद्धता जनाएको उल्लेख गर्दै उनले सरकारले कुनैपनि हालतमा नजरअन्दाज गर्न नहुने बताए ।

त्यस्तै, आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल, सघर्ष समितिका उप–संयोजक डा. सुशिलमोहन भट्टराईले स्वास्थ्य मन्त्रालयले आफुहरुमाथि षड्यन्त्र गरेको आरोप लगाए । उनले मन्त्रालयले आफुहरुको अभिभावकत्व निर्वाह गर्न नसकेको गुनासो पोखे । उनले सरकारी चिकित्सकहरुलाई सरकारले नै अपहेलित गरेको आरोप लगाए । उनले भने,‘हामी अति भएर छताछुल्ल भएका हौं । बाध्य भएर आन्दोलन गरेका हौं ।’ स्वास्थ्य मन्त्रालयले षड्यन्त्र गरेको र गिरोहको रुपमा काम गरेको पनि उनले गम्भिर आरोप लगाए ।

भट्टराईले सरकारी चिकित्सक परिवर्तनको संवाहक भएको बताए । आफूहरु समायोजनमा जान तयार रहेको भएपनि अहिले प्रदेश र स्थानीय तह अपरिपक्व रहेको उनले बताए । उनले सरकारले सरकारी चिकित्सकहरुलाई धराशयी बनाउने काम गरेको अर्को आरोप लगाए ।

संघीयताको मोडल परीक्षणको नाममा आफूहरुलाई बलीको बोको बनाउन खोजिएको उनको आशय थियो । उनले भने, ‘एक्सपेरिमेन्टको रुपमा हामीलाई मुसा बनाउने काम भएको छ ।’ समायोजनको नतिजा आगामी दश वर्षपछि देखिनेपनि उनले सुनाए । सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउन नसकेको पनि उनले टिप्पणी गरे ।

उनले आफूहरुलाई समायोजनको नाममा एउटै तहमा थन्काएर जेलमा हाल्न नपाईने तर्क गरे । उनले भने, ‘हामीलाई वैज्ञानिक तवरले समायोजनमा हाल्नुपर्छ । फोकल गरेर पठाउनुपर्छ ।’ आफूहरु संघीयताविरोधी नभएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रो राजनीतिक मुद्दा होईन, र हामी राजनीति पनि बुझ्दैनौं । हामी संघीयताको पक्षपोषण पनि गर्दैनौं र विरोध पनि गर्दैनौं ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्