‘म भ्रष्टाचार गर्दिनँ, गर्नेलाई उम्कन दिन्नँ’ : मन्त्री अर्याल

Padma Aryal-12
लाेकपाटी न्यूज

काठमाडौं, २९ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी र मालपातमा भइरहेको बदमासी तत्काल रोक्न निर्देशन दिएकी छन्। उनले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताउँदै यस्तो निर्देशन दिएकी हुन्।

नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवं शारीरिक रुपले अशक्त सेवाग्राहीका लागि निर्मित विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गर्दै नापी र मालपोतमा हुने गरेका बदमासीलाई तत्काल रोक्न कर्मचारीलाई मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

त्यसअवसरमा नापी कार्यालय भक्तपुर र भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको अनुगमन गर्दै मन्त्री अर्यालले पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको बताइन्। मन्त्रालय मातहतका नापी तथा मालपोत कार्यालयमाथि सुशासनको विषयलाई लिएर प्रश्न उठेको भन्दै मन्त्री अर्यालले केही रुपमा भएका कमजोरीका कारण माथि क्लिन भएपनि तलबाट गिज्याउने काम भइरहेको बताइन्।

उनले भनिन्, ‘हामी पहिलो नम्बरमा सुशासन कायम गर्न लागिपरेका छांै। हामी मातहतका कार्यालयमाथि प्रश्न उठेका छन्। हामी क्लिन छांै । भ्रष्टाचारको विषयमा हामीमाथि कुनै प्रश्न उठाउने ठाउँ छैन । तर, तलबाट केही बदमासी भएका कारण हामीलाई गिज्याउने काम भइरहेको छ ।’

मन्त्रालय मालपोत र नापीमा भइरहेका बदमासी सिस्टमबाटै अन्त्य गर्न लागिपरेको मन्त्री अर्यालले बताइन्। ‘अब कर्मचारीलाई गाली गरेर मात्र होइन सिस्टमबाट नै यो कुरालाई च्यालेञ्ज गर्नुपर्छ भनेर हामी डिजिटल प्रविधिमा हाम्रा सेवालाई ढाल्न लागिपरेका छौं।’

मन्त्री अर्यालले डिजिटल सेवाको शुरुआत स्वरूप कलंकीबाट नमुना कार्यालय बनाउन शुरु गरिएको भन्दै मन्त्री अर्यालले यसले राजश्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त गर्ने बताइन्।

अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयमा त्यो सिस्टम लागु गर्ने योजना अन्तर्गत मन्त्रालय अगाडि बढेको भन्दै उनले डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने बताइन्।

उनले भनिन्, ‘यसको शुरुआत कलंकी मालपोत कार्यालयबाट गरेका छौं। एक वर्षभित्र देशैभरका सबै मालपोत र नापी कार्यालयमा डिजिटल सेवा लागू गर्ने योजनामा हामी लागेका छौं। डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा हामीले प्रविधि हस्तान्तरण गर्नेछौं।’

मन्त्री अर्यालले नमुना कार्यालय बनाउने मन्त्रालयको अभियान भएकोले नमुना कार्यालय बनाउँदा पैसाको कारणले काम नरोकिने बताइन्। बिचौलियामुक्त कार्यालय बनाउन लागेको भन्दै उनले सेवाग्राही बाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निशेध गरेर सेवाग्राहीमुखी सेवा दिनुपर्ने बताइन्।

कर्मचारी लक्षित गर्दै मन्त्री अर्यालले मान्छे मरेर जाँदा शरीर मात्रै लिएर जाने भएको हुनाले जनतालाई सेवा दिनका निम्ति इमानदारीता देखाउन आग्रह गरिन्। उनले राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत गर्ने कर्मचारीलाई दण्डित समेत गरिने बताइन्।

उनले भनिन्, ‘मान्छे मरेर जाँदा कात्रोमा खल्ती हुदैन । जनताको जीवन जिउन साह्रै निकृष्ट हुनुपर्दैन, राम्रो काम गर्नुस् । हामी सबै तपाईंहरुको साथमा छौं। हामी यहाँ देखिएका भ्रष्टाचार प्रविधिमार्फत अन्त्य गर्छौं।’ कार्यालयको अनुगमनपछि मन्त्री अर्यालले नहुने काम कसैले टेबुल ठोक्दैमा कानून मिचेर गर्न जरुरी नभएको भन्दै कतिपय काम गर्दा व्यावहारिक कुरामा पनि ध्यान दिनुपर्ने बताइन्।

त्यस अवसरमा नापी कार्यालय भक्तपुरका प्रमूख ज्ञानेन्द्रकुमार विष्टले ७ महिनादेखि कार्यालयले आफ्नै भवनबाट सेवा दिइरहेको, अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको, टोकन प्रणाली मार्फत सेवा दिइएको जानकारी दिइएको थियो।

यसैगरी मालपोत कार्यालय भक्तपुरका प्रमूख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराएका थिए। कार्यक्रममा भक्तपुरका प्रमूख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालले सेवाग्राही मैत्री भएर सेवाप्रवाह गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्