जनकपुरधाम, २९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले घोषणा गरेको आन्दोलनको कुनै औचित्य नरहेको ठोकुवा गरेका छन्। र्नुभएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले राजपाले आन्दोलन घोषणा गरेको भोलिपल्ट मुद्दाबिनाको आन्दोलन गर्नुको औचित्य नहुने प्रष्ट पारेका हुन्।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मुद्दाबिनै आन्दोलन गर्नुको औचित्य छैन, अदालतको बिषयलाई सरकारसँग जोडेर आन्दोलन गर्नुको त झन् कुनै औचित्य रहन्न।’ प्रजातन्त्रमा जो कोहीलाई पनि आफ्नो मागलाई लिएर आन्दोलन गर्ने नैसर्गिक अधिकार रहेको बताउँदै मन्त्री बाँस्कोटाले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न राजपालाई सुझाव दिएका छन्।
उनले भने, ‘राजपालाई आन्दोलन गर्ने नैसर्गिक अधिकार छ। तर, उनीहरूले ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर आन्दोलन गरिरहेका छन्, जस्को औचित्य छैन।’ राजपाले अदालतको विषयलाई सरकारसँग जोडेर आन्दोलन सुरु गर्नु गैरप्रजातान्त्रिक चरित्र रहेको मन्त्री बाँस्कोटाको भनाइ छ।
‘अदालतको विषयलाई लिएर आन्दोलन नगर्नुस्, कुनै समस्या छन् भने वार्ताको टेबलमा बसेर समाधान खोजौं,’ उनले भने। उनले नेपालको कुनै पनि नागरिक नागरिकताबाट बञ्चित नहुने प्रतिबद्धतासमेत जनाए। सर्वोच्चले जारी गरेको अन्तरिम आदेश स्थायी आदेश नरहेको भन्दै उनले चाँडै नै नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे।



लाेकपाटी न्यूज

