काठमाडौं, २९ चैत । नेपालमा भएका इन्टरनेट सेवा प्रदायक कम्पनीहरु यतिखेर आन्दोलित भएका छन्। टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछि इन्टरनेट सेवा प्रदायकहरू आन्दोलित भएका हुन्।
उनीहरुले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तयारीलाई गलत भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको प्रवेशद्वारमा धर्ना दिएका छन् । सरकारले विद्यमान विनियमावली नै परिवर्तन गरेर सस्तोमा फ्रिक्वेन्सी दिन लागेको थाहा पाएपछि उनीहरु धर्नामा बसेका हुन् । वर्षौदेखि सरकारले आफूहरुलाई फ्रिक्वेन्सी नदिएको र हाल आएर टेलिभिजन प्रसारक संस्थालाई ‘चोर बाटो’बाट फ्रिक्वेन्सी दिन लागिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) का अध्यक्ष भोजराज भट्टले मन्त्रालयको ठाडो हस्तक्षेपमा फ्रिक्वेन्सी गैरकानूनी तवरबाट बाँड्न लागिएकाले आन्दोलनमा आएको बताए । उनले फ्रिक्वेन्सी अक्सन (मोल बढाबढमा लिलामी) गर्नुपर्ने बताए । उनले भने, ‘अक्सन गर्दा राज्यलाई पनि फाइदा हुन्छ । कसैलाई पोस्नका निम्ति नै सरकारले ब्याक डोरबाट फ्रिक्वेन्सी दिन लाग्नु गलत छ।’
सरकारले आफूहरुको माग सुनुवाई नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी सेवा प्रदायकहरुले दिएका छन् । उनीहरुले प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यास विपरीतको कार्य नगर्न उनीहरुले सचेत गराएका छन् ।



लाेकपाटी न्यूज

