काठमाडौं, २८ चैत । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्नको लागि सबैभन्दा पहिला ऊर्जामा आत्मनिर्भर हुनुपर्ने बताएका छन्। जर्मनीमा शुरु भएको जर्मन इनर्जि एण्ड ट्रान्जिसन एक्जिभिसनको उद्घाटन कार्यक्रममा सहभागिता जनाउन पुगेका मन्त्री पुनले उक्त प्रदर्शनीको सम्बोधन गर्दै यस्तो भनेका हुन्।
उनले ऊर्जा आपूर्ति र वर्तमान समयको सन्दर्भमा विश्वका अन्य देशलाई ऊर्जामा कसरी आत्मनिर्भर बन्ने भन्ने कुराको ज्ञान उक्त प्रदर्शनीले दिने बताउँदै ऊर्जाको क्षेत्रमा जर्मनीले अगाडि सारेका भिजन आफूलाई मन परेको बताए। स्थापनाकालदेखि नै जर्मन र नेपालको सम्बन्ध डिप्लोमेटिक रहेको बताउँदै उनले नेपालको विकासका लागि जर्मन सरकारले दिएको योगदान अतुलनीय रहेको बताए।
कार्यक्रममा बोल्दै उनले सन् १९५८ मा मित्रराष्ट्र भएदेखि जर्मनले नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्य तथा अन्य विभिन्न क्षेत्रमा दिएको योगदान आफ्नो स्मरणमा ताजा रहेको भन्दै यस्ता प्रकारका प्रदर्शनी तथा कार्यक्रम दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउने प्लाटफर्म हुने बताए।
उनले अबको पाँच वर्षभित्र विद्युतको पहुँच शतप्रतिशत जनतामा पुर्याउने बताउँदै अबको दश वर्षमा दश हजार मेघावाट विद्युत क्षमता विस्तार गर्ने बताए। उनले मध्यमस्र्याङदी र तल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको निर्माणको लागि मेरुदण्डको रुपमा जर्मन सरकार रहेको पनि बताए।



लाेकपाटी न्यूज

