विराटनगर, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भयो ।
उनीसँगै अल्मुनियमको काम गर्दै आएका २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते बने । गम्भीर घाइते बनेका प्रकाश र हेमलाई विराटनगरको नोबेल मेडिकल कलेज ल्याइयो । अस्पतालले हेमलाई मृत घोषणा गर्यो । प्रकाशकी बहिनी पबित्राले प्रकाशको टाउकोमा रगत जमेकाले तत्काल अप्रेशन गर्न डेढ लाख रुपैयाँ जम्मा गर्न भनियो । अस्पतालले शल्यक्रिया गर्न १ लाख ३० हजार र औषधिका लागि ५० हजार अग्रिम जम्मा गर्न भनेको बताइन् ।
राति साढे ८ बजे दुर्घटना भएको जानकारी पाएर अस्पताल आएका आफन्तले तत्काल पैसा निकाल्न नसक्दा अस्पताल प्रशासनले ‘बाँच्ने सम्भावना कम भएको’ भन्दै शल्यक्रिया गरेन । नोबेलले उपचार नगरेपछि राति करिब ११ बजेतिर आफन्तले विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरे ।
अस्पतालले शल्यक्रिया गरेर टाउकोमा जमेको रगत निकालेको छ । तर, अझै प्रकाश खतरा मुक्त छैनन् ।
आफन्तले बिहीबार मात्र थाहा पाए ‘प्रकाशलाई ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्र शाहको रहेछ ।’ विराटनगर अस्पतालमा भेटिएका प्रकाशका आफन्तहरु दुर्घटनामा संलग्नलाई कारवाही नहुने हो कि भन्ने चिन्तामा छन् ।
‘प्रहरी कार्यालय पुग्दा मात्र पूर्वराजाको गाडी भन्ने थाहा पाएँ’ ‘प्रकाशका हजुरबुबा सबुरलाल राजबंशीले भने, ‘ गाडी जो कसैको होस्, कानूनअनुसार कारबाही होस् ।’ दुर्घटना भइसकेका कारण घाइतेको उपचार र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताउँछन् । प्रकाशकी आमा कालिनदेवी चौधरी पनि कानून अनुसार कारबाही हुनुपर्ने बताउँछिन् ।
कामका सिलसिलमा जहाँ पुगेपनि साँझ बास बस्न घर आइपुग्थे । छिमेकी रहेका उनीहरु बुधबार सुन्दरहरैचामा दिनभरी काम गरेर मोरटरसाइकलमा घर फर्कदै थिए । साँझ करिब साढे ७ बजेको समयमा सुन्दरहरैचा नगरपालिका ४ बुधवारे चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ७९६२ नम्बरको कारले मोटरसाइकललाई ठक्कर दियो, जुन कार पूर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको थियो ।



लाेकपाटी न्यूज

