याे वर्ष गैँडाकाे गणना नहुने

Rhino
लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत। नेपालका निकुञ्ज तथा वन क्षेत्रमा यस वर्ष गैँडा गणना नहुने भएको छ। सन् २०१५ मा गैँडा गणना गरिएको थियो। यस वर्ष गणना गर्ने भनिएको भए पनि बजेट अभावका कारण गणना नहुने भएको हो।

हरेक चारदेखि पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ। दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीमा बाढी आउंँदा धेरै गैँडालाई बगाएको थियो। दश गैँडा भारतबाट उद्धार गरिएको थियो भने कम्तीमा तीन गैँडा अझै भारतमा छन्। बाढीले कतिपय गैँडा मरेको र निकुञ्जमा तितरवितर हुंँदा प्राकृतिक कारणले धेरै गैँडा मरेका छन्।

वास्तविकता थाहा पाउनका लागि यसै वर्ष गणनाको तयारी गरिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बजेटको अभावमा यस वर्ष गैँडा गणना नगरिएको बताए।अप्रिलको पहिलो साताभित्र गणना थालिसक्नुपर्ने हुन्छ।

गणनाका लागि करिब एक महिना समय लाग्छ। सन् २०१५ मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखिएका थिए।पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित ६ सय ४५ गैँडा रहेका थिए। पछिल्ला वर्षमा शिकारीले गैँडा मार्न नपाए पनि प्राकृतिक कारणले धेरै गैँडा मरेका छन्। चालू आर्थिक वर्षमा निकुञ्जमा ४१ गैँडा प्राकृतिक कारणले मरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्