काठमाडौं, २८ चैत । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् ।
सञ्चारमन्त्री बाँस्कोटाले नेकपाका महासचिव पौडेल जग्गा खरिदमा ठगिएको बताएका हुन्। प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै ललिता निवासको जग्गामा समस्या देखिएकोले सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको पनि उनको भनाइ छ ।
बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारलाई महासचिव पौडेल जग्गा किन्दा ठगिएको भन्दै बचाउ गरे । ‘उहाँ (विष्णु पौडेल) फर्जीमा संलग्न भएको होइन नि। उहाँ अपराधी होइन, जग्गा रहेछ नक्कली ठगीमा पर्नुभयो,’ उनले भने, ‘जसले जग्गा किन्यो त्यो संलग्न हुँदैन। उहाँलाई झुक्याइएछ नि !’
सरकारले उक्त जग्गा रोक्का गरिसकेको बाँस्कोटाको भनाइ छ ।
‘व्यक्तिलाई डाम्छु भनेर लाग्नुहुन्छ भने केही छैन। सरकारले जग्गा रोकेर एक्सन गरिसक्यो,’ उनले भने, ‘उहाँ (विष्णु पौडेल)आफू पीडित भइसक्नुभयो जग्गा परेछ नक्कली। यहाँ भन्दा अरु केही हुन्न।’ सरकारी जग्गा किनेको भए कसैलाई पनि नछाड्ने उनले बताए। ‘म संलग्न छैन भर्ने महासचिवले वक्तव्य जारी गरिसक्नुभएको छ। तर दोषी देखिए कोही पनि उम्कदैन।
सत्ता र प्रतिपक्षी होइन, दोषी देखिए सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउँछ,’ उनले भने। सार्वजानिक जग्गा संरक्षणको दायित्व सरकारकै भएको पनि उनले प्रष्ट पारे ।



लाेकपाटी न्यूज

