के महंगा विद्यालय मात्रै उत्कृष्ट भन्न मिल्छ ?

लाेकपाटी न्यूज

काठमाडौं, २८ चैत। कतिपय मानिहरुमा महंगो विद्यालयमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने भ्रम हुन्छ। के साच्चै महंगो विद्यालयमा गुणस्तरीय शिक्षा पाइन्छ त ? प्राय अभिभावकहरु बच्चाको गुणस्तरीय शिक्षाको लागि महंगो स्कुल रोज्ने गर्दछन्।

नेपालमा सरकारी विद्यालयको स्थिती नाजुक छ। सरकारी विद्यालयप्रतिको धारणा पनि राम्रो छैन्। पैसा नहुने वा छोराछोरीको भविष्यप्रति संवेदनशिल नहुनेहरु नै सरकारी विद्यालयमा भर पर्छन् भन्ने कतिपयको बुझाई छ। यसरी सरकारी विद्यालयको हालत कमजोर भएको अवस्थामा निजी विद्यालयहरु प्रतिस्पर्धात्मक रुपमा सञ्चालनमा छन्। हरेक चोक, गल्ली, टोलमा निजी विद्यालय सञ्चालनमा छन्।

यस्तो लाग्छ, हामी कहाँ सरकारी विद्यालय नै छैन। अहिले अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गर्छन्। निजी विद्यालयमा पनि एकरुपता छैन। सस्तोदेखि महंगोसम्म, सामान्यदेखि स्तरियसम्म निजी विद्यालय छन्। निश्चय पनि सेवा सुविधाको हिसाबले महंगा शुल्क असुल्ने विद्यालयहरु अगाडि हुन्छ।

यी विद्यालयमा भवन, खेलमैदान, पुस्ताकलय, विज्ञान प्रयोगशाला, क्यान्टिन, होस्टल, यातायात सबै सुविधा हुनसक्छ। कक्षाकोठा पनि तुलनात्मक रुपमा आकर्षक र भव्य हुनसक्छ। यस्ता विद्यालयमा बालबालिकालाई खेल्न र रमाउनका लागि पनि पर्याप्त साधन(स्रोत हुनसक्छ। तर, महंगा विद्यालय नै उपयुक्त वा उत्कृष्ट भन्न सकिदैन।

विद्यालयको उत्कृष्टता मापन गर्ने पहिलो कडी भनेकै सिकाई विधी एवं पद्धती हो। अहिले महंगा र राम्रा भनिएका विद्यालयहरु नतिजाका लागि विद्यार्थीलाई पुस्तकमा बढी केन्द्रित गराउछन्। अभिभावकको दवाव झेल्नका लागि पनि ति विद्यालयहरुले विद्यार्थीलाई पठनपाठनमा लगाउने गर्छ। जबकी सिकाई विधी एवं पद्धती राम्रो हुनु र विद्यार्थीलाई घोकाएर राम्रो नतिजा निकाल्नु फरक कुरा हुन्।

सिकाई विधी मुलत कक्षाकोठा, पठन सामाग्री र शिक्षकमा निर्भर रहने कुरा हो। विद्यार्थीलाई कसरी पढाउदा बुझ्छन, पढाउने सामग्रीलाई कसरी बुझ्ने भाषामा बदल्नुपर्छ, प्रभावकारी सिकाइको लागि के कस्ता पठन सामाग्री प्रयोग गर्ने भन्ने कुरा शिक्षकले जान्नुपर्छ। यससँगै अर्को महत्वपूर्ण कुरा भनेको विद्यार्थीको रुची र क्षमताको सही आंकलन हो। एउटा शिक्षकले आफ्ना विद्यार्थीको रुची के छ, उनको क्षमता कस्तो छ भनेर सोही अनुरुप सिकाईको भाषा बदल्नुपर्छ।

उनीहरुको रुचीलाई प्राथमिकता दिदै उनीहरुको क्षमता अनुसार पढाउनुपर्छ। शिक्षकहरु विद्यार्थीमैत्री हुनुपर्छ। जागिरमुखी वा ओभरस्मार्ट भएमा पनि विद्यार्थीहरु शिक्षकसग सहजै घुलमिल गर्न सक्दैनन्। विद्यार्थीलाई सहज हुनेगरी र विद्यार्थी रमाउनेगरी आफ्नो व्यवहार प्रदर्शन गर्नुपर्छ।

अहिलेका विद्यार्थीहरु प्रविधिको पहुचले धेरै चलाख भएका छन्। उनीहरुमा धेरै किसिमको जानकारी हुन्छन्। यसर्थ एउटा शिक्षकले विद्यार्थीलाई कुनैपनि माध्यमबाट कसरी सही सूचना लिने, कसरी त्यसलाई जीवनोपयोगी ढंगले बुझ्ने भन्ने कुरा सिकाउनुपर्छ। यस किसिमका शिक्षक वा पठन विधी भएका विद्यालय नै बालबालिका लागि उपयोगी र प्रभावकारी हुन्छ।

त्यसैले कुनैपनि विद्यालय छनौट गर्नुअघि त्यसको चर्चा, तामझाम, शुल्कको आधारमा होइन, कक्षाकोठाको वातावरण, शिक्षकको योग्यता र व्यवहार, पठन शैली, उपलब्ध शैक्षिक सामाग्री आदिलाई मध्यनजर गर्नुपर्छ। यसको अर्थ के होइन भने, महंगो शुल्क असुल्ने विद्यालय खराब हुन्छन्।

महंगा शुल्क असुलेर राम्रै शिक्षादिक्षा दिने विद्यालय पनि छन्। यद्यपी विद्यालयको गुणस्तर मापन गर्ने आधार त्यसले असुल्ने शुल्क होइन। यद्यपी उच्च भौतिक पूर्वाधार भएका विद्यालय नै अनुकुल भन्ने पनि होइन। बाहिरबाट हेर्दा भव्य देखिने,चम्किलो लाग्ने विद्यालयमा तपाईका छोराछोरीले कति सहज रुपमा, कति सौहाद्र्धपूर्ण वातावरणमा, कति बुझ्ने भाषामा पढ्छन्? त्यो महत्वपूर्ण कुरा हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्