काठमाडौं, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समृद्धिका लागि सहकार्य गर्न नेपाली कांगेसलाई आग्रह गरेका छन्। चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै बिहिबार प्रचण्डले सहमतिको विकल्प नभएकाले सहकार्य गर्दै अघि बढ्न आग्रह गरेका हुन् ।
विगतमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधान निर्माण पनि सहमतिबाटै सम्पन्न भएको बताउँदै उनले समृद्धिको यात्रामा सबै दलहरुबीच सहकार्यको विकल्प नभएको बताए। पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक परिवर्तनमा भएको सहकार्य अब मुलुकको समृद्धिका लागी अनिवार्य रहेकोमा जोड दिएका हुन् ।
अध्यक्ष प्रचण्डले सत्तापक्ष र प्रतिपक्षी नभनि सहकार्य गर्ने हो भने समृद्धिको सामना पूरा हुन धेरै समय नलाग्ने बताए । संविधान निर्माणपछि समृद्धिको यात्रा तय भइसकेकाले आगामी १० वर्षमा मुलूकले धेरै कोल्टे फेर्ने उनको भनाइ छ ।
प्रचण्डले निर्वाचनपछिको छोटो समयमा कानून निर्माण लगायत दिर्घकालीन कामहरु भएकाले समृद्धिको गतिले अब तिव्रता लिने विश्वास व्यक्त गरे । सरकार, प्रतिपक्षी दल लगायत सबै राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न सरोकारपक्षबीचको सहकार्यबाट मात्रै समृद्धि प्राप्त हुने उनले जनाए।
चितवनबाट प्रतिनिधि सभा सांसद रहेका प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाट मात्रै मुलूकको आर्थिक विकासले फड्को मार्ने बताए । उनले चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशालालगायत विभिन्न किसिमका रेकर्डहरु बन्दै गएको अवस्थामा मनोरञ्जनका लागी पनि देशकै ठूलो फनपार्क बनेर अर्को रेकर्ड कायम भएको बताए ।
यसअघि नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले सरकारको समृद्धिको यात्रामा प्रतिपक्षी दल सहकार्यका लागी तयार रहेको बताएका थिए । उनले सरकारको १ वर्षमा खासै प्रगति नदेखिएकाले आगामी दिनमा यसलाई तिव्रता दिन पनि आग्रह गरे ।



लाेकपाटी न्यूज

