पोखरा, २८ चैत। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि अपारदर्शी भएको आरोप लगाएका छन्।
कांग्रेस जिल्ला कोषाध्यक्षहरुको पोखरामा आयोजित तेस्रो राष्ट्रिय भेलामा सहभागी हुन पोखरा पुगेका सिंहले पार्टी आर्थिक गतिविधिमाथि प्रश्न उठाएका हुन्। सिंहले आर्थिक पारदर्शिताको प्रसंग उप्काए पनि त्यसबारे थप पुष्ट्याइ भने गरेनन्। ‘पार्टीको आर्थिक गतिविधि पारदर्शी छैन। यसलाई पारदर्शी बनाउनु पर्छ’, सिंहले भने।
विगतमा जनताले आशा भरोसा गरेको कांग्रेसप्रति आकर्षण कम हुँदै जानु गम्भीर समिक्षाको विषय भएको भन्दै उनले जिम्मेवार रुपमा सोचेर आ-आफ्ना जिलाका पार्टी संगठनका काममा लाग्न उनले कोषाध्यक्षहरुलाई निर्देशन दिए। विधि र प्रक्रियाविपरीत पार्टी नेतृत्वअघि बढेको आरोप लगाए। पार्टी एकपछि अर्को संकटमा फस्दै गएको उल्लेख गर्दै उनले विधि प्रक्रियाअनुरुप अघि नबढे कांग्रेसलाई चुनौतीको पहाडहरुले थिच्ने चेतावनी दिए।
जनताले भरोसा गरेको पार्टीप्रतिको आकर्षण घट्दै गएको उल्लेख गर्दै उनले यसप्रति गम्भीर समीक्षा गर्न पार्टी पंक्तिलाई आग्रह गरे। ‘इतिहासले मात्रै अब पार्टी चल्दैन।कांग्रेसको भविष्य सुनिश्चित छ भन्ने विश्वास दिलाउँदै वर्तमान पुस्तालाई आकर्षित गर्ने हो भने सबैले यसबारे गम्भीतापूर्वक सोच्नुपर्छ’,नेता सिंहले भने।
उनले सरकार विधि र प्रक्रिया मिचेर अघि बढेको आरोप पनि लगाए। उनले मनोमानी ढंगले सरकारअघि बढे कांग्रेस त्यसलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि नेता सिंहले दिए।



लाेकपाटी न्यूज

