काभ्रे, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताएका छन् ।
आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भने, ‘हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।’
उनले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा ल्याइने जिकिर पनि गरे । सबैको एकताबद्ध सोच र प्रतिबद्धताले मात्रै गरीबी न्यूनीकरणको यात्रा सफल हुने उनको भनाइ छ । उनले भने, ‘हामीले सही तरिकाले आफ्ना स्रोतसाधनलाई उपयोग गर्यौँ भने समृद्धि टाढाको विषय होइन’
उनले पर्यटनले आफ्नो पहिचान जोगाउने बताउँदै आफ्नै स्थानका उत्पादनलाई जोड दिँदै पर्यटकीय पहिचान कायम राख्नुपर्ने धारणा राखे । ‘मानिस र पृथ्वीको रक्षा गर्दै विकासलाई तीव्रता दिने हो, मानिस र पृथ्वीको रक्षाविना समृद्धिको कुनै अर्थ रहन्न’, उनले भने, ‘प्राकृतिक स्रोत र सौन्दर्य बिगार्दै मानिस र पृथ्वी नरहने विकास हामीले चाहेका होइनौँ ।’ निर्वाचनमा आफूले गरेको प्रतिबद्धतामा पाँच वर्षपछि कसैले प्रश्न गर्न नसक्ने उनको दाबी थियो ।
पूर्वराज्यमन्त्रीद्वय गोविन्दनाथ उपे्रती र सूर्यमान दोङ, जिल्ला समन्वय समितिका सदस्य पे्रम लामा, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, उद्योग वाणिज्य महासङ्घका सदस्य सुरकृष्ण वैद्यलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।



लाेकपाटी न्यूज

