काठमाण्डौं, २८ चैत। १० दिनअघि बारा र पर्सामा आएको भीषण हावाहुरीको स्थलगत अध्ययनको विस्तृत विवरण सार्वजनिक गर्दै मौसमविद्को टोलीले मौसम प्रणाली ‘टोर्नाडो’ भएको तथ्यहरू सार्वजनिक गरेको छ।
प्रारम्भिक अध्ययनबाट नै ‘टोर्नाडो’को अनुमान गरेको मौसमविद् टोलीले बुधबार पत्रकार सम्मेलन गरी स्थलगत अध्ययनको विवरण सार्वजनिक गरेको हो। जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्रा्ष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको छ सदस्यीय मौसमविद्को टोलीले चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो।
विभागका वरिष्ठ मौसमविद् डा. अर्चना श्रेष्ठ नेतृत्वको टोलीले ड्रोन क्यामेराबाट क्षतिको भिडियो र तस्बीर लिनाका साथै प्रभावित क्षेत्रका स्थानीयवासीसँग जानकारी लिएको थियो। अध्ययनको विवरणबारे जानकारी गराउँदै वरिष्ठ मौसमविद् डा. श्रेष्ठले ‘टोर्नाडो’ पर्साको जगतनाथपुरबाट सुरु भई बाराको बैरियामा पुगेर कमजोर भएको देखिएको बताए। उनले भने, “स्थलगत अध्ययनमा झण्डै २० टन तौलको ट्रकलाई एक फन्का घुमाएर ढलाएको, हावाको वेगले ठूला रूख जरैदेखि उखेलिएका, हावाले उडाएर रूखमा अड्किएका जस्तापाता बाङ्गिएर मोडिएका, बाँसको झाडी उखेलिएको, पक्की घरकोे छत उडाएर ८० मिटर टाढा र्पुयाएको दृश्य देखियो। सबै दृश्य र विशेषताका आधारमा भीषण हावाहुरी टोर्नाडो हो भन्ने पुष्टि हुन्छ।”
प्रभावित क्षेत्रमा हावाले र्पुयाएको क्षति हेर्दा सानो सीमित क्षेत्रको चौडाइमा भएको देखिएको अवगत गराउँदै वरिष्ठ मौसमविद् डा श्रेष्ठले कुनै ठाउँमा एउटै रूखको पनि आधा भाग भाँचिएको र आधा भागमा केही नभएको बताए। टोलीले भूउपग्रहबाट लिइएको तस्बीर र स्थानीयवासीसँग लिएको जानकारीका आधारमा टोर्नाडो चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको अनुमान गरेको छ। त्यो मौसम प्रणाली भने पोखरामा उत्पन्न भएको थियो।
मौसमविद्हरू हावाहुरीको क्षतिका बारेमा प्रारम्भमा सेन्टिनेल भूउपग्रहबाट प्राप्त उच्च रिजोलुसनका तस्बीरको अध्ययनबाट भीषण हावाहुरी टोर्नाडो भएको प्रारम्भिक निष्कर्षमा पुगेका थिए। द स्मल अर्थ नेपालका अनुसन्धान संयोजक पीयूष दाहालले प्रभावित क्षेत्रमा भएको क्षतिको विशेषता हेर्दा आकाशबाट सोेली आकारको सुरुङ जस्तो आएको र क्षति र्पुयाएको अवस्था हेर्दा टोर्नाडो भएको पुष्टि हुन्छ उनले भने।
उनले भने, “पीडितले हावाले एकदमै घुमाएको भनी सञ्चारमाध्यमबाट प्रारम्भिक जानकारी पाएपछि हामीले टोर्नाडोको अनुमान र्गयौँ र थप अध्ययन तथा तथ्याङ्क सङ्कलन गरेर निष्कर्षमा पुग्यौँ।” भूउपग्रहको तस्बीरका आधारमा ‘टोर्नाडो’ करिब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको हुनसक्ने अनुसन्धान संयोजक पीयूष दाहालको भनाई थियो। यद्यपि टोलीले स्थलगत अध्ययनको थप विश्लेषण गरी विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्ने र टोर्नाडोको नेपाली नामकरण गर्नेसमेत जनाएको छ।
प्रभावित क्षेत्र नजीक मौसमी राडार नभएकाले उक्त मौसमी प्रणालीको तथ्याङ्क रेकर्ड गर्न नसकिएको विभागले जनाएको छ। यही चैत १७ गते आइतबार साँझ बारा र पर्सामा गएको हावाहुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए। हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको थियो। यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन।



लाेकपाटी न्यूज

