धनगढी, २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कारबाही गर्ने बताएका छन् ।
सरकारी डाक्टरहरुको माग संविधान र संघीयता विरोधी भएको बताएका छन् । डाक्टरहरुको आन्दोलन नभएर रडाको भएको उनको तर्क छ । कार्यकर्ता भेटघाट तथा सुदूरपश्चिम प्रदेश भ्रमणको सिलशिलामा धनगढी पुगेका मन्त्री पण्डितले बुधबार प्रदेश पार्टी कार्यालय धनगढीमा सो कुरा बताएका हुन् ।
‘डाक्टर सरकारले खटाएको ठाउँमा जानुपर्ने छ’ मन्त्री पण्डितले भने ‘सबै सरकारी डाक्टरलाई संघ रोजेर काठमाडौंमा घुम्न दिइने छैन । प्रदेश र स्थानीय तहमा जान्न भन्न मिल्दैन ।’ उनले यदि कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने पनि बताए । गुनासो सुनुवाइ समितिमा आएका जाएज गुनासो आफूहरु सम्बोधन गर्न तयार भएको उनको भनाइ छ ।
गुनासो सुनुवाइ समितिमा समायोजन प्रक्रियामा चित्त नबुझेको भन्दै थुप्रै उजुरी परेको र त्यसको छानविन १२ ओटा टोली मिलेर गरिहरको मन्त्री पण्डितले जानकारी दिए ।तर, गुनासो सुनुवाइ समितिमा परेका ६० प्रतिशत उजुरी मनको बह पोख्नेमात्रै भएको बताए । विशेष अवस्था र परिस्थितिमा मात्रै समायोजनमा हेरफेर हुने उनको तर्क छ ।
यसबाहेक मन्त्रालयले जारी गरेको सूचनामा मेडिकल बोर्डमा एक हजार तिरेर झुटो सिफारिस लिएर करिब ८ सय जना डाक्टरले उजुरी दिएको मन्त्री पण्डितले बताएका छन् । सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले भने सरकारसँग विभिन्न माग राख्दै आन्दोलन स्वरुप सेवा नै ठप्प पारेका छन् ।



लाेकपाटी न्यूज

