काठमाडौं, २७ चैत । साइबरको बढ्दो पहुँचसँगै दुरुपयोग र अपराध पनि बढ्न थालेपछि साइबर क्राइमविरुद्ध जनचेतना अभियान शुरु भएको छ ।
नेपाली चलचित्र क्षेत्रका हस्ती अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी साइबर क्राइमविरुद्ध जनचेतना अभियानमा जुटेका हुन् । प्रहरीसँग मिलेर साइबर क्राइमसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएका यी जोडीले लघु चलचित्रमार्फत पनि सचेतना अभियान चलाएका छन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले निर्माण गरेको लघु चलचित्र ‘बैगुनी माया’मा प्रियंका र आयुष्मानले कलाकारका रूपमा साइबर क्राइमले निम्त्याउने घटना र अपराधबारे जानकारी दिएका छन् । शुभ मिडिया होमको सहकार्यमा तयार भएको यो लघु फिल्मलाई युट्युबमार्फत रिलिज गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदी सामाजिक सञ्जालको दुरुपोयबाट आफ पनि बाँच्नुपर्ने र अरूलाई पनि बचाउनुपर्ने आजको आवश्यकता रहेको र त्यो सन्देश यो लघु चलचित्रले दिने बताएका छन् । लघु चलचित्रमा प्रियंका, आयुष्मानसँगै शिवहरि पौडेल, कमला रेग्मी, अशोक धिताल, विष्णु बुढाथोकी, पुनम भण्डारीलगायतको अभिनय छ ।
राजेश विकले निर्देशन गरेको यो लघु चलचित्रमा गोकुल अधिकारीको छायांकन, सरोज ओली र प्रेम पुनको कथालेखन, रवीन भट्ट र अमन मानन्धरको सम्पादन छ ।



लाेकपाटी न्यूज

