काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले व्यापार घाटा न्युनीकरण गर्दैै फालाम तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्न स्वदेशमै फालम र स्टीलको उत्पादन गर्नुपर्नमा जोड दिएका छन्।
ग्रील तथा स्टील व्यवासयी महासङ्घ नेपालको सोमबार राजधानीमा भएको २५ औँ वार्षिक साधारणसभा तथा आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अपार सम्भावना रहेको फलाम खानीको उत्खनन् गरेर फलाम र स्टीलको आयात प्रतिस्थापन गरिनुपर्ने बताए।
उनले भने, “ग्रील तथा स्टीलजन्य सामग्रीमा आत्मनिर्भर बन्दैछौँ भन्ने सुन्दा मलाई गौरवको अनुभूति भइरहेको छ। तर, यथार्थ के हो भने फलाम र स्टील भने हामीले आयात गरिरहेका छौँ। हाम्रा पूर्खाले सञ्चालन गरेका तामा र फलाम खानी अहिले इतिहास बनेका छन्। सुन, चाँदी, यूरेनियम, पेट्रोल, डिजेल, ग्यास तथा बहुमुल्य धातु हाम्रो जमिनभित्र छन् भन्ने थाहा छ। तर, सदुपयोग गर्न सकिरहेका छैनौँ ।”
नेपालमै उत्खनन भएको फलाम तथा स्टील प्रयोग गर्नुको बिकल्प नभएको उल्लेख गर्दै उपराष्ट्रपतिले नेपालमै रहेका खानीको उत्खनन् गर्न सबैको ध्यानाकर्षण गराए। उनले पर्यटनको विकास, जडिबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन् गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ढिला गर्न नहुनेमा जोड दिए।
प्रविधिको विकास नै आजको विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै उनले प्रविधिको आविष्कार र प्राविधि भित्राउनेतर्फ सबैको सामूहिक प्रयत्नको खाँचो औँल्याए। विश्व बजारमा नेपाली उत्पादनका माग बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा ग्रील तथा स्टील व्यवसायीले पनि गुणस्तरीय वस्तु उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए।
उपराष्ट्रपतिले भने, “विश्व बजारमा आज पनि नेपाली वस्तुहरु निर्यात भइरहेकै छन्। तर, अपेक्षित छैन। भनिन्छ, विश्व बजारमा नेपाली वस्तु निर्यात नहुनुको पहिलो कारण उत्पादन नै नहुनु हो, दोस्रो कारण गुणस्तरीय नहुनु। ग्रील तथा स्टील व्यवसायीले गुणस्तरीय वस्तु उत्पादन गर्नुहुनेछ। यहाँहरुले उत्पादन गर्ने वस्तुलाई मानिसहरुले जीवनको सुरक्षाका लागि प्रयोग गरिरहेका छन् ।”
“सरकारी नीतिको अभावमा सबै व्यवसायी कानूनी दायरामा नआउनु, व्यवसायीकरण र प्रतिस्पर्धीभन्दा निर्वाहमुखी हुनु, आधुनिक प्रविधिको अभावमा गुणस्तरीय सामाग्री दिन नसक्नुलगायत समस्या यहाँहरुले भोगिरहनु भएको छ’ उनले थपे।
यसमा सरकार गम्भीर हुनेछ र सबै समस्याहरु समाधान हुँदै जानेछन्”– ग्रील तथा स्टील क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गरेर कानूनी तथा नीतिगत सुधारमा सरकारले प्रयास जारी राखेको जानकारी दिँदै उपराष्ट्रपतिले भने।
यस क्षेत्रमा दक्ष र अदक्ष गरी करिब एक लाख ६० हजार जनशक्तिका लागि रोजगारी सिर्जना र वार्षिक रु ४५ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको ग्रील तथा स्टील व्यवासयी महासङ्घले जनाएको छ।



लाेकपाटी न्यूज

