संघीय शिक्षा ऐन मन्त्रीपरिषदमा पेश गर्छु : मन्त्री पोखरेल

girirajmani_pokhrel
लाेकपाटी न्यूज

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहमति जनाए ‘सङ्घीय शिक्षा ऐन’ छोटो बाटोबाट ल्याउन आफू तयार रहेको बताएका छन्।

सोमबार ललितपुरमा नेपाल अभिभावक महासङ्घको घोषणा सभामा बोल्दै उनले संसदीय प्रक्रियाबाट शिक्षा ऐन ल्याउन ढिलाइ हुने भएकाले प्रतिपक्ष दल तयार भए अध्यादेशबाट ल्याउने बताए।

‘‘प्रतिपक्ष दल तयार हुन्छ, भने म शिक्षा ऐन अध्यादेशबाट ल्याउन तयार छु’’ उनले भने, ‘‘संसदीय प्रक्रियामा ऐन ल्याउँदा दुई महिना लाग्दछ।’’ उनले शिक्षाले देश कता जान्छ भन्ने देखाउने भूमिका रहेकाले शिक्षाको मार्गदर्शकको रुपमा रहेको ऐन चाँडै ल्याउनुको विकल्प नरहेको बताए।

मन्त्री पोखरेलले राष्ट्रिय शिक्षा नीति पास भएपछि शिक्षा ऐन बनाउने जानकारी गराए। उनले सोमबार नै शिक्षा नीतिबारे मन्त्रालयमा छलफल गरेर मन्त्रिपरिषद् बैठकमा पेश गर्ने बताए। सरकारले उच्चस्तरीय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन चाँडै नै सार्वजनिक गर्ने उनले जानकारी गराए।

मन्त्री पोखरेलले आगामी वैशाखदेखि देशभरिका शैक्षिक संस्थामा एउटै खालको शैक्षिक क्यालण्डेर समेत लागू गरिने बताए। ‘‘ठीक समयमा पढाइ, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि देशभरि नै एउटै शैक्षिक क्यालेण्डर लागू गरिने छ’’ उनले भने, ‘‘शिक्षासँग सम्बन्धित अन्य संस्थालाई समेत हामीले क्यालेण्डरलाई प्रभावित गर्ने खालका कार्यक्रम नगर्न आग्रह गरेका छौं।’’

उनले सरकारले प्राविधिक शिक्षालाई जोड दिँदै आएको उल्लेख गदै आउने शैक्षिक सत्रमा सबै प्रदेशका केही सामुदायिक विद्यालयमा प्राकृतिक चिकित्सा, जडीबुटी र आयुर्वेदिक शिक्षा पढाइने बताए।

अभिभावक सङ्घ नेपाल, राष्ट्रिय अभिभावक सङ्घ नेपाल, संस्थागत विद्यालय अभिभावक सङ्घ, प्राविधिक शिक्षा अभिभावक सङ्घ, दृष्टिविहीन अभिभावक सङ्घ नेपाललगायतका घटक मिली महासङ्घ घोषणा गरिएको हो। महासङ्घको संयोजकमा सुप्रभात भण्डारी र धर्मदत्त देवकोटा रहेका छन्।

महासङ्घको ३६ सदस्यीय तर्दथ समिति, १० सदस्यीय सचिवालय र चार सदस्यीय स्थायी समिति बनाइएको छ। महासङ्घको नियमित कार्य सञ्चालनका लागि संयोजकद्वय भण्डारी र देवकोटासहित अभिभावक सङ्घका अध्यक्ष केशव पुरी र नेपाल राष्ट्रिय अभिभावक सङ्घका अध्यक्ष यादवप्रसाद शर्मा सदस्य रहेको स्थायी समिति बनाइएको छ।

घोषणासभामा संयोजक भण्डारीले सबै अभिभावक सङ्घको प्रतिनिधित्व अव महासङ्घले गर्ने बताए। यस्तै अर्का संयोजक देवकोटाले शिक्षा क्षेत्रमा देखिका विकृतिक हटाउनका लागि महासङ्घ स्वयसेवी संस्था भएर लाग्ने बताए। उनले असारसम्म ७५३ स्थानीय तहमा महासङ्घ गठन गरिसक्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्